जातीय विभेदको आरोपमा वडा सदस्यसहित तीनजना पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१४ वडा कार्यालयमा कार्यरत दलित महिला कर्मचारीमाथि जातीय विभेद गरेको आरोपमा जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका छन्।

कार्यालय सहयोगी गंगा विकले दिएको जाहेरीका आधारमा वडा सदस्य कृष्णहरि काफ्ले, कार्यालय सहयोगी अम्बिका भण्डारी र देवी विकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई पोखरा–१४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

विकले जातकै आधारमा आफूलाई वडा कार्यालयको भान्सामा प्रवेश गर्न, चिया तथा खाना पकाउन र पानी दिनसमेत रोक लगाइएको भन्दै असोज २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी थिइन्।

जाहेरीअनुसार असोज १२ गते कार्यालय सहयोगी भण्डारीले विकलाई ‘पितृकार्यका कारण १६ दिनसम्म भान्सा नछुन र चिया, खाना पकाउने तथा पानी दिने काम नगर्न’ भनेकी थिइन्। उक्त निर्देशन कसको भनाइमा दिइएको हो भनेर सोध्दा कार्यवाहक वडाध्यक्षसमेत रहेका वडा सदस्य काफ्लेलगायतले भनेको जवाफ पाएको विकको दाबी छ।

कार्यालयको सरसफाइ सकेर पानी पिउन भान्सामा जाँदासमेत आफूलाई जातका आधारमा रोक लगाइएको विकले जाहेरीमा उल्लेख गरेकी छन्।

विकका अनुसार उनी २०५९ सालदेखि पोखरा महानगरपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत छिन्। पाँच महिनाअघि मात्रै उनको वडा नम्बर १४ मा सरुवा भएको थियो।

सार्वजनिक कार्यालयभित्रै जातका आधारमा काम गर्न र भान्सा प्रयोग गर्न रोक लगाइएको यो घटनाले कार्यस्थलमा हुने जातीय विभेदको गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ