ओखलढुंगा । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कर्मचारी खटाउँदा मयार्दा क्रम नमिलाइएको भन्दै खटाइएका केही कर्मचारीहरूले सेवा सुविधा अस्वीकार गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगालाई जानकारी गराउँदै मर्यादाक्रम अनुसार जिम्मेवारी नदिएपछि केही कर्मचारीहरूले निर्वाचनमा नजाने घोषणा गरेका थिए । कार्यालयले केही सूची संशोधन गरे पनि माग पूरा नभएपछि उनीहरुले सेवा सुविधा अस्वीकार गर्ने तर काममा भने खटिने बताएका हुन् ।
लिखित रुपमै उनीहरुले प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराएको मोलुङ गाउँपालिकाका कर्मचारी प्रकाश ढकालले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न स्थानीय तहका कर्मचारी खटाउने क्रममा पदअनुसारको मयार्दा क्रम नमिलेको भन्दै उनीहरुले संयुक्तरुपमा लिखित असहमति पेस गरेका थिए ।
यस विषयमा फागुन १२ गते कर्मचारीको उपस्थितिमा छलफलसमेत भएको थियो । छलफलमा खटाइएका कर्मचारीहरूले पदीय मयार्दा विपरीत जिम्मेवारी दिइएको भन्दै सच्याउन माग गरेका थिए । तर समय अभावका कारण मयार्दा मिलाउन नसकिएको जवाफ पाएपछि कर्मचारीहरूले असन्तुष्टि जनाइरहेका छन् ।
असहमति जनाउने कर्मचारीहरूमा मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकाका विभिन्न शाखामा कार्यरत अधिकृत तथा सहायकस्तरका कर्मचारी रहेका छन् । उनीहरूले निर्वाचनमा जिम्मेवारी पूरा गर्न तयार रहे पनि मयार्दा नमिलाइ खटाइएको अवस्थामा कुनै अतिरिक्त आर्थिक सुविधा नलिने घोषणा गरेका हुन् ।
संयुक्त रूपमा हस्ताक्षर गरिएको निवेदनमा कर्मचारीहरूले राज्यले तोकेको दायित्व निर्वाह गर्ने तर पदीय सम्मान विपरीत खटाइकोले सेवा सुविधा स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् । साथै आगामी दिनमा कर्मचारी व्यवस्थापन गर्दा मयार्दा, अनुभव र जिम्मेवारीको स्पष्ट आधार तय गर्न माग गरिएको छ ।
कार्यालयका अनुसार कर्मचारी असन्तुष्टिबारे छलफल गरी काममा अनिवार्य जान र निर्वाचनमा सहयोग गर्न भनिएको छ । उनीहरुले मर्यादाक्रम अनुसारको जिम्मेवारी नभएमा काम गर्ने तर सेवा सुविधा अस्वीकार गर्ने अडान यथावत राखेका छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन