भोटेकोशी बाढी : ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते विहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन रहेको पाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट कुल ५ हजार ३२६ जना सम्पर्कविहीन छन्। रसुवाका सम्पर्कविहीनमध्ये १ हजार ३९३ जना स्थानीय बासिन्दा र १ हजार २८६ जना अन्य जिल्लाबाट त्यहाँ पुगेका व्यक्ति छन्।

त्यस्तै, जिल्लामा कार्यरत ७३ सरकारी कर्मचारी, ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा कार्यरत २६ जनाको समेत अवस्था अज्ञात छ।

नुवाकोटबाट १ हजार ९८१ जना सम्पर्कविहीन छन् भने बाढीमा परेका ५८७ विदेशी पर्यटकको समेत खोजी भइरहेको छ।

सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य नेपाली र विदेशी टोलीको संयुक्त प्रयासमा जारी छ। प्राधिकरणका अनुसार हालसम्म १ हजार ३५७ शव फेला परेका छन्। तीमध्ये १०२ शव परिवारलाई बुझाइएको छ भने बाँकीको पहिचान खुल्न सकेको छैन।

बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कबाहिर रहेकाले खोजी तथा शव पहिचानको चुनौती थप जटिल बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ