बाढीपहिरोले मुख्य राजमार्ग अस्तव्यस्त, यातायात प्रभावित

काठमाडौं । लगातारको वर्षापछि विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा जोखिमलाई ध्यान दिँदै निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशको सङ्खुवासभामा मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान करिब १०ः३० बजे पहिरो खसेपछि कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरोका कारण बन्द भएको उक्त सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी तथा पहिरोले सडक यातायातमा असर पुर्‍याएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै असोज १६ गतेदेखि सवारी सञ्चालनमा समयसम्बन्धी व्यवस्था लागू गरिएको छ।

उक्त सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहनेछ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर १० टनसम्म क्षमताका मालवाहक सवारी सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।

रसुवामा बाढीका कारण जिल्लाका मुख्य राजमार्गहरू बिहान १०ः३० बजेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा असोज १ गते राति बाढी तथा पहिरोको जोखिम बढेपछि टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोकिएको छ।

त्यसैगरी, पासाङल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० को सिमटारमा असोज १० गते बिहान करिब १०ः३० बजे आएको बाढीका कारण सडक पूर्ण रूपमा बन्द भएको छ।

धादिङ हुँदै जाने पृथ्वी राजमार्गमा भने पहिरो हटाएर यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० को जवाडखोलामा भदौ १६ गते तथा शीतलबजारमा भदौ २६ गते खसेको पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो।

अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाल प्रहरीका टोलीले निरन्तर काम गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ