युवा नीति निर्माणका हिस्सेदार बन्नुपर्छ : लक्ष्मी विक

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मी विकले नीति तथा कानून निर्माणमा युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएकी छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा मंगलबार आयोजित ‘युवासँग प्रदेश सभा’ विषयक अन्तरक्रियामा बोल्दै उनले युवालाई राजनीतिक तथा सामाजिक गतिविधिका दर्शक नभई नीति निर्माणका सक्रिय हिस्सेदार बनाउनुपर्नेमा जोड दिइन् ।

प्रदेश सभा र युवाबीच प्रत्यक्ष संवाद तथा सहकार्य बढाएर उनीहरूका आवाज, आवश्यकता र सुझावलाई कानून तथा नीतिमा समेट्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य तुलसी देवकोटाले संसदीय अभ्यासमा युवाको भूमिकाबारे चर्चा गरिन् भने प्रदेश सभा सचिवालयका अधिकृत केशवराज जोशीले विधेयक दर्तादेखि पारित हुँदासम्मको प्रक्रियाबारे जानकारी गराएका थिए ।

सृजनशील वातावरण संरक्षण तथा समाज विकास नेपालको आयोजना र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा युवाहरूले रोजगारी, उद्यमशीलता, प्रदेश विकास र नीति निर्माणमा आफ्नो प्रतिनिधित्वबारे जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ