त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार दिउँसो त्रिपुरेश्वरस्थित बसपार्कमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीमा काभ्रेको पनौतीका २५ वर्षीय लामा गम्भीर घाइते भएका थिए।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत लामाको सोमबार साँझ करिब सवा ७ बजे मृत्यु भएको अस्पतालका बर्न प्लास्टिक सर्जन शंकरमान राईले जानकारी दिए। काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले पनि उनको मृत्यु भएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार ट्राफिक प्रहरीसँग सामान्य विवाद भएपछि चालक आफैँले बसमा आगो लगाएको प्रारम्भिक जानकारी छ। घटनाका बेला बसमा यात्रु भने थिएनन्।

घटनाको वास्तविक कारण र परिस्थितिबारे थप अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले सात सदस्यीय छानबिन समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा गठित समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ