रोजगारीको अवसर र खेती गर्ने जमिन नहुँदा कैलालीको गोदावरी नगरपालिका–८ र ९ का अधिकांश परिवार वर्षौंदेखि गिट्टी कुटेर गुजारा चलाउँदै

खुटिया किनारमा गिट्टी कुटेर जीविका चलाउनेहरू

कैलाली । बिहानको चिसो अझै हटेको हुँदैन। घाम राम्ररी झुल्किनुअघि नै कैलालीको गोदावरी नगरपालिका–९ की ६१ वर्षीया लाली थापा हातमा हथौडा बोकेर खुटिया नदी किनार पुग्छिन्। बिहान ७ बजेदेखि सुरु हुने उनको दैनिकी दिनभर ढुंगा फुटाएर गिट्टी बनाउँदै बित्छ। उमेरले ६ दशक पार गरिसक्दा पनि उनीसँग आराम गर्ने सुविधा छैन। परिवारको जीविका चलाउन उनी हरेक दिन नदी किनार पुग्नैपर्छ।

लाली थापाको जस्तै दैनिकी छ ८४ वर्षीय हिरालाल बोहराको पनि। उमेरले आठ दशक पार गरिसक्दा पनि उनी बिहानै खुटिया किनार पुग्छन्। हातमा हथौडा लिएर ढुंगा फुटाउनु उनको दिनचर्या बनेको छ। ६० वर्षीया जानु थापा पनि यही काममा व्यस्त भेटिन्छिन्। बुढ्यौलीले शरीर थाक्दै गए पनि उनीहरूको हातमा रहेको हथौडा रोकिएको छैन। जीवन धान्नकै लागि उनीहरू उमेरको प्रवाह नगरी श्रम गरिरहेका छन्।

गोदावरी नगरपालिकाका वडा नम्बर ८ र ९ का अधिकांश परिवारको जीविकोपार्जनको आधार गिट्टी कुट्ने काम बनेको छ। स्थानीयस्तरमा रोजगारीका पर्याप्त अवसर नहुनु र खेतीपाती गर्न आफ्नै जग्गाजमिन नहुनु उनीहरूका लागि मुख्य समस्या हो। यही कारण धेरै परिवार वर्षौंदेखि खुटिया नदी किनारमा ढुंगा फुटाएर गिट्टी बनाउने र बिक्री गर्ने काममा निर्भर छन्।

उनीहरूका लागि खुटिया नदी किनार केवल काम गर्ने ठाउँ मात्र होइन, परिवारको चुलो बाल्ने आधार पनि हो। बिहान घरबाट निस्किएपछि दिनभर ढुंगा फुटाउने, गिट्टी छुट्याउने र बिक्रीका लागि तयार पार्ने काममा उनीहरूको समय बित्छ। दिनभरको कठोर परिश्रमपछि प्राप्त हुने आम्दानीबाट घरको खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक आवश्यकता पूरा गर्नुपर्ने हुन्छ।

गिट्टी कुट्ने काम शारीरिक रूपमा निकै कठिन छ। लगातार हथौडा चलाउनुपर्ने, ढुंगा फुटाउँदा उड्ने धुलो सहनुपर्ने र मौसमको प्रतिकूलताबीच काम गर्नुपर्ने उनीहरूको बाध्यता छ। जाडोमा बिहानको चिसो र गर्मीमा चर्को घामले उनीहरूको श्रमलाई थप कष्टकर बनाउँछ। तर काम नगरे परिवारको खर्च चलाउन नसकिने भएकाले उनीहरू कठिनाइका बीच पनि श्रम गर्न बाध्य छन्।

विशेषगरी ज्येष्ठ नागरिकका लागि यो काम झनै चुनौतीपूर्ण छ। उमेर बढ्दै जाँदा शारीरिक क्षमता कमजोर हुँदै जान्छ। हातखुट्टा दुख्ने, थकान बढ्ने र लामो समयसम्म काम गर्न कठिन हुने अवस्था स्वाभाविक हो। तर नियमित आम्दानीको अर्को स्रोत नहुँदा लाली, हिरालाल र जानुजस्ता ज्येष्ठ नागरिकले समेत ढुंगा फुटाउनुपर्ने अवस्था छ।

स्थानीयस्तरमा रोजगारी सिर्जना हुन नसक्नु र खेतीयोग्य जमिनको अभावले उनीहरूको जीवनलाई वर्षौंदेखि एउटै श्रममा सीमित बनाएको छ। सीप र क्षमताअनुसार अन्य काम गर्ने अवसर नपाउँदा उनीहरूका लागि गिट्टी कुट्नु नै जीविकोपार्जनको प्रमुख माध्यम बनेको छ।

विकास निर्माणका काममा प्रयोग हुने गिट्टी उत्पादन गर्न उनीहरूले दिनभर पसिना बगाउँछन्। उनीहरूको श्रमबाट सडक, घर तथा अन्य संरचना निर्माणमा आवश्यक सामग्री तयार हुन्छ। तर विकास निर्माणमा योगदान पुर्‍याउने उनीहरूकै जीवन भने अभाव र कठिन श्रमबाट मुक्त हुन सकेको छैन।

खुटिया नदी किनारमा बिहानैदेखि सुनिने हथौडाको आवाज उनीहरूको संघर्षको कथा हो। लाली थापाको हातमा रहेको हथौडा, हिरालाल बोहराको बुढ्यौलीमा पनि नथाकेको श्रम र जानु थापाको निरन्तर मेहनतले स्थानीयस्तरमा रोजगारी तथा जीविकोपार्जनका अवसरको अभावलाई उजागर गर्छ। उनीहरूका लागि गिट्टी कुट्नु रहर होइन, परिवारको पेट पाल्ने बाध्यता हो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ