भोटेकोशीको बहाव घटेसँगै बाढीको जोखिम टर्‍यो

काठमाडौँ । भोटेकोशी नदीमा पानीको बहाव घटेसँगै रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा देखिएको बाढीको जोखिम तत्कालका लागि टरेको छ।

आइतबार बिहान भोटेकोशीमा जलसतह बढेको सूचना आएपछि तटीय क्षेत्रमा सतर्कता अपनाइएको थियो। तर पछिल्लो अवस्थाअनुसार नदीको बहाव घट्दै गएको र ठूलो बाढीको सम्भावना नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटका अनुसार नुवाकोटतर्फ नदीको जलसतह केही बढे पनि अवस्था सामान्य रहेको छ।

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको अद्यावधिक सूचनामा रसुवा, नुवाकोट हुँदै धादिङसम्मका नदी किनार तथा तटीय क्षेत्रमा हाल ठूलो बाढीको जोखिम नरहेको उल्लेख गरेको छ।

यसअघि बिहानै भोटेकोशी नदीमा ठूलो आवाजसहित बाढी आएको खबर सार्वजनिक भएपछि नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरिएको थियो। अहिले अवस्था सामान्य बन्दै गए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै जल तथा मौसम विज्ञान विभाग र सुरक्षा निकायले नदीको जलसतह तथा आसपासको अवस्थामाथि निगरानी जारी राखेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ