काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा अलपत्र परेका तीन हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार हालसम्म ३ हजार २९ जनालाई सुरक्षित स्थानमा ल्याइएको हो।
उद्धार गरिएकामध्ये २ हजार ७ सय ७६ जना नेपाली नागरिक छन् भने २ सय ५३ जना विदेशी नागरिक रहेका छन्। पछिल्लो २४ घण्टामै ६ सय २४ जनालाई उद्धार गरिएको प्रजिअ रेग्मीले बताए।
बाढीका कारण जोखिममा परेर सुरक्षित स्थानमा आश्रय लिइरहेकाहरूलाई प्राथमिकताका आधारमा हेलिकप्टरमार्फत उद्धार गरिएको उनले जानकारी दिए। उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिएको र उपचार आवश्यक देखिएकालाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको छ। अन्यलाई परिवारसँग सम्पर्क गराएर पुनर्मिलन गराइएको प्रशासनले जनाएको छ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार अभियान अझै जारी छ। जलविद्युत् आयोजनाको सुरुङभित्र फसेको भनिएका व्यक्तिहरूबाहेक अन्य क्षेत्रमा उद्धार कार्य भइरहेको प्रशासनले जनाएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा अझै मानिसहरू फसेको हुनसक्ने आशंकामा हेलिकप्टरबाट नियमित हवाई निरीक्षणसमेत भइरहेको छ।
यसैबीच, बाढीपछि आफन्त सम्पर्कविहीन भएको भन्दै खोजीका लागि १ हजार ५ सय ५८ वटा निवेदन परेको छ। नुवाकोट र रसुवाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी गरिदिन भन्दै ती निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।
हराइरहेका व्यक्तिको खोजीका लागि नेपाल प्रहरीको वेबसाइटसँगै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले हेलिकप्टरसँगै तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको प्रयोग गरेर सम्भावित प्रभावित स्थानमा खोजी गरिरहेको छ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये नुवाकोटमा मात्रै हालसम्म ९५ जनाको शव फेला परेको छ। जिल्लाका ३० वटा स्थानमा सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव संकलन गरिएको हो।
संकलित शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। परीक्षण तथा पहिचानका लागि शवहरू नुवाकोटबाट काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जनाइएको छ। प्रहरीले आफन्त तथा परिवारजनलाई आवश्यक विवरणसहित अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो