७८ बर्षका धनपति भण्डारी सरकारलाई सहयोग गर्न आफैं चेक बोकेर सिंहदरबार पुगे

काठमाडौं । देश विपत्तिमा परेका बेला सहयोग गर्न धेरै हात अघि बढ्छन्। कसैले संस्थामार्फत, कसैले समूह बनाएर त कसैले व्यक्तिगत रूपमा सहयोग गर्छन्। तर, ७८ वर्षको उमेरमा आफ्नै बैंक खाताबाट चेक काटेर, आफैं सिंहदरबार पुगेर सरकारलाई सहयोग गर्ने धनपति भण्डारीको कथा भने फरक छ।

भदौ १४ गते दिउँसो करिब २ बजे भण्डारी सिनामङ्गलस्थित निवासबाट सिंहदरबार पुग्नुभयो।

साथमा थियो रु.७ लाख ७७ हजार ७ सय ७७को चेक

सिंहदरबारको दक्षिण गेटमा पुगेपछि उहाँले सुरक्षाकर्मीलाई भन्नुभयो, “प्रधानमन्त्री राहत कोषमा पैसा दिन आएको हुँ, मलाई पैसा बुझाउने ठाउँमा पठाइदिनूस्।”

गेटमा खटिएका नेपाल प्रहरीका कर्मचारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क गरे। फोन गर्दै जाँदा कुरा सचिवालयमा कार्यरत रोशन तामाङसम्म पुग्यो। राहत रकम अर्थमन्त्रीले बुझ्ने जानकारी पाएपछि तामाङले भण्डारीलाई अर्थ मन्त्रालय पठाउने व्यवस्था मिलाउनुभयो।

त्यसपछि दक्षिण गेटका प्रहरी कर्मचारीले उहाँलाई अर्थ मन्त्रालयसम्म पुर्‍याए।

त्यस दिन अर्थ मन्त्रालय बाढी प्रभावितका लागि राहत रकम व्यवस्थापन गर्न व्यस्त थियो। भीडभाडबीच केही समय प्रतीक्षा गरेपछि भण्डारीलाई अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको कार्यकक्षमा लगियो।

भण्डारीलाई भेटेपछि अर्थमन्त्री वाग्ले स्वयं उहाँ बसेको नजिकै सरे ।

अर्थमन्त्रीले जिज्ञासा राखे, “यत्रो रकम, यो उमेरमा तपाईं व्यक्तिगत रूपमै सहयोग गर्न चाहनुहुन्छ ?”

भण्डारीको जवाफ छोटो थियो—“हो।”

त्यसपछि कुराकानी गर्दै जाँदा उहाँको सहयोगको पृष्ठभूमि खुल्दै गयो।

जीवनको लामो समय रोजगारीका सिलसिलामा भारतमा बिताएका भण्डारी छोराछोरी हुर्किएपछि आफ्नो थातथलो बुटवल फर्किए । छोराछोरीले पढाइ पूरा गरेपछि काठमाडौँमा राम्रो व्यवस्था बनाएसँगै उहाँ पनि काठमाडौँ बसाँई सर्नुभयो। अहिले उहाँ सिनामङ्गलमा बस्दै आउनुभएको छ।

देशमा ठूलो संकट वा विपत्ति आइपर्दा भने उहाँको मनले चुप लागेर बस्न दिँदैन। आफ्नै व्यक्तिगत खाताबाट चेक काट्नुहुन्छ र सहयोगका लागि आफैं सिंहदरबार पुग्नुहुन्छ।

तेस्रोपटक सरकारलाई सहयोग

भण्डारीले सरकारलाई सहयोग गरेको यो पहिलोपटक भने होइन। यसपटकसहित उहाँले सरकारलाई तेस्रोपटक व्यक्तिगत सहयोग गरेका हुन्।

उहाँले सहयोग गर्दै आएको रकमको अंक पनि विशेष छ-७,७७,७७७।

अर्थात् हरेक पटक रु. ७ लाख ७७ हजार ७ सय ७७

बाढीपीडितको सहयोगका लागि ल्याएको चेक बुझ्दै अर्थमन्त्री वाग्लेले भण्डारीलाई रकम बाढी पिडीतसम्म पुग्ने विश्वास दिलाए ।

उहाँले रकम रसुवाका बाढीपीडितले राहत पाउने गरी स्थानीय तहमा पठाइने बताए । साथै उक्त चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुने बताए ।

‘हजुरलाई दिएपछि म ढुक्क भएँ’

अर्थमन्त्रीबाट रकम उचित प्रयोजनमा प्रयोग हुने आश्वासन पाएपछि भण्डारीले भने, “हजुरलाई दिएपछि म ढुक्क भएँ, त्यही भएर त खोज्दै–खोज्दै आएको।”

७८ वर्षको उमेरमा पनि देशलाई परेको विपत्तिमा राज्यलाई सहयोग गर्न आफैं सिंहदरबारसम्म पुग्ने भण्डारीको यो कदम आर्थिक सहयोगभन्दा माथिको मानवीय उदाहरण बनेको छ।

बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिले नागरिकको जनजीवन प्रभावित भइरहेका बेला राहत र पुनर्स्थापनाका लागि राज्यसँगै नागरिकस्तरबाट पनि सहयोग जुटिरहेको छ। यही भीडमा भण्डारीको योगदानले भने ‘सहयोग गर्न उमेरले छेक्दैन’ भन्ने सन्देश दिएको छ।

उनको हातमा रहेको त्यो चेकको मूल्य रु.७ लाख ७७ हजार ७ सय ७७ भए पनि त्यसमा जोडिएको नागरिक जिम्मेवारी, संवेदना र राज्यप्रतिको भरोसाको मूल्य अझ ठूलो देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ