भोटेकोशीमा श्रीमान् गुमाएकी पेमालाई सरकारको साथ

रसुवा । भोटेकोशीको बाढीमा श्रीमान् गुमाएकी रसुवाकी एक सुत्केरी आमालाई सरकारले १८ वर्षसम्म मासिक आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीकी २९ वर्षीया पेमा लामा (परिवर्तित नाम) का श्रीमान् भोटेकोशी बाढीका कारण हाइड्रोपावरमा काम गर्ने क्रममा गुमाएका थिए। श्रीमान् गुमाउँदा उनी सुत्केरी थिइन्। काखमा नवजात छोरी र परिवारको भविष्यको चिन्ताले उनी कठिन अवस्थामा थिइन्।

यही अवस्थालाई मध्यनजर गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मङ्सिर १० गते गोल्जुङबेसी पुगेर उनलाई दीर्घकालीन स्याहार योजनामा समेटेकी छन्।

सरकारले नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाका लागि आमाको कुमारी बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरेको छ। अब छोरी १८ वर्ष नपुग्दासम्म परिवारले प्रत्येक महिना उक्त रकम प्राप्त गर्नेछ।

यो सहयोग भोटेकोसी बाढीबाट प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजनाअन्तर्गत उपलब्ध गराइएको हो। राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआईटी ग्रुप फाउन्डेसनको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिकाका लागि यो प्याकेज कार्यान्वयन गरिएको हो।

मन्त्री वादीले विपद्का कारण अभिभावक गुमाएका तथा अभिभावक घाइते वा अपाङ्गता भएर संरक्षणको जोखिममा परेका बालबालिकालाई १८ वर्षसम्म शिक्षा, स्वास्थ्य र पालनपोषणमा सहयोग गर्ने सरकारको योजना रहेको बताइन्।

उनका अनुसार लक्षित बालबालिकाको अवस्था र आवश्यकताका आधारमा व्यक्तिगत स्याहार योजना बनाएर सहायता उपलब्ध गराइनेछ। यसका लागि विभिन्न साझेदार संस्थामार्फत ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारमा योगदान गर्ने प्याकेज उपलब्ध रहेको छ। बालकोषमा ७ करोड रुपैयाँ रहेको र एमआईटी ग्रुप फाउन्डेसनसँग बाढी प्रभावित बालबालिकाका लागि ५८ करोड रुपैयाँ बराबरको सम्झौता भएको पनि उनले जानकारी दिइन्।

बालबालिकालाई परिवारबाट अलग गरेर बालगृहमा राख्ने प्रवृत्ति निरुत्साहित गर्दै परिवारमै सुरक्षित हुर्काउने सरकारको नीति रहेको मन्त्री वादीको भनाइ छ। कानुनविपरीत बालगृहमा पुर्‍याइएका बालबालिकामध्ये हालसम्म २७ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ।

यसैगरी, विपद्पछि ललितपुरको ठेचोमा सञ्चालन गरिएको अस्थायी संरक्षण केन्द्रबाट ४९ जना बालबालिका लाभान्वित भएका छन्। परिवार वा आफन्तको हेरचाहमा पठाउन नसकिएका नौ बालबालिकालाई सेवा प्रदायक संस्थाको संरक्षणमा पठाइएको छ।

भोटेकोशी बाढी प्रभावित बालबालिकाको अवस्था पहिचान र स्याहार योजना निर्माणका लागि राष्ट्रिय बाल अधिकार परिषद्ले पाँचवटा टोली परिचालन गरेको छ। ती टोलीले रसुवा, नुवाकोट र काठमाडौं उपत्यकामा घरदैलोमै पुगेर बालबालिकाको अवस्था अध्ययन तथा आवश्यक सहायता निर्धारण गरिरहेका छन्।

गोल्जुङकी एक सुत्केरी आमाबाट सुरु गरिएको यो कार्यक्रमले विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन संरक्षणमा राज्यको जिम्मेवारीलाई जोड दिएको छ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ