काठमाडौं । रसुवाको भोटेकोशीमा बाढी आएको त्यो दिन नदी मात्रै उर्लिएको थिएन, हजारौँ मानिसका सपना पनि उर्लिएर बगेका थिए।
कसैको घर बग्यो। कसैको खेत। कसैको पसल। कसैको जीवनभरको कमाइ। तर सबैभन्दा ठूलो क्षति त्यतिबेला भयो, जब बाढीको भेलले मानिसहरू नै बगाउन थाल्यो।
आज नदी शान्त होला। सडकमा फेरि डोजर चल्न थालेका होलान्। भग्नावशेष हटाइँदै होला। कतै नयाँ बाटो खनिँदै होला। कतै भत्किएको संरचना फेरि उठाउने तयारी हुँदै होला। तर, जसको घरबाट एउटा मान्छे हरायो, त्यो घर कसरी फेरि पूरा हुन्छ ?
बाढीले बगाएको घर बनाउन सकिन्छ।
भत्किएको सडक बनाउन सकिन्छ।
पुल फेरि बनाउन सकिन्छ।
विद्युत् आयोजना पुनः सञ्चालन गर्न सकिन्छ।
तर, आमाको काखबाट खोसिएको छोरा, छोराछोरीबाट खोसिएको बाबु, श्रीमतीबाट खोसिएको श्रीमान् र परिवारबाट खोसिएको आफन्त फर्काउन सकिँदैन।
त्यही भएर विपद्को वास्तविक क्षति तथ्यांकमा मात्रै अट्दैन।
एउटा मृत्यु एउटा संख्या होइन।
त्यसको पछाडि एउटा परिवार हुन्छ।
एउटा सपना हुन्छ।
एउटा भविष्य हुन्छ।
र हुन्छ—कहिल्यै पूरा नहुने प्रतीक्षा।
एउटा फोनको प्रतीक्षा
विपद्पछि सबैभन्दा पीडादायी दृश्य उद्धारस्थलमा मात्रै हुँदैन। त्यो दृश्य त ती घरहरूमा हुन्छ, जहाँ परिवारका सदस्यहरू मोबाइल हातमा लिएर बसिरहेका हुन्छन्।
‘कतैबाट फोन आउँछ कि ?’
‘सायद उद्धार भएर अर्को ठाउँमा पुगेका होलान्।’
‘सायद अस्पतालमा होलान्।’
यस्तै आशामा दिन बित्छ।
तर समय बित्दै जाँदा आशा र भयबीचको दूरी झन् गहिरिँदै जान्छ।
बेपत्ताको परिवारका लागि हरेक ढोका ढकढक्याउँदा मुटु चस्किन्छ। हरेक अपरिचित फोन नम्बरमा आशा पलाउँछ। अनि गलत खबर सुन्दा फेरि संसार अँध्यारो हुन्छ।
यस्तो पीडा कुनै राहतको प्याकेजले कम गर्न सक्दैन।
सुरुङको अँध्यारोमा पनि जीवन थियो
यही विपद्को अँध्यारोबीच त्रिशूली–३ ‘ए’ को सुरुङबाट नौ दिनपछि दुई जना कामदार जीवितै बाहिर निकालिए।
नौ दिनसम्म अँध्यारो सुरुङभित्र जीवनसँग संघर्ष गरेका उनीहरू बाहिर निस्कँदा त्यो दृश्यले शोकमा डुबेको समाजलाई केही क्षणका लागि भए पनि आशा दिएको छ।
विशेषगरी अरूको ज्यान जोगाउने क्रममा आफू सुरुङभित्र फसेका सञ्जय साहको कथा अझ मर्मस्पर्शी छ। आफू बच्नुभन्दा पहिले अरूलाई सुरक्षित स्थानमा पठाउने प्रयासले विपद्का बीच मानवीयता अझै जीवित रहेको देखाएको छ।
मृत्युको समाचारले भरिएको समयबीच एउटा जीवित उद्धारले दिएको सन्देश ठूलो छ-आशा रहुन्जेल खोजी रोक्नु हुँदैन।
उद्धार सकिएपछि पनि संघर्ष बाँकी रहन्छ
विपद् सकिनु भनेको पीडा सकिनु होइन।
पानी घटेपछि विपद्को पहिलो अध्याय सकिन्छ। त्यसपछि सुरु हुन्छ अर्को लामो संघर्ष—घर फर्कने, परिवार सम्हाल्ने, रोजगारी खोज्ने, बालबालिकालाई विद्यालय पठाउने र फेरि सामान्य जीवनमा फर्कने।
तर सबैका लागि ‘सामान्य जीवन’ उस्तै हुँदैन।
कसैको घर हुन्छ, तर घरभित्रको मान्छे हुँदैन।
कसैसँग खेत हुन्छ, तर खेती गर्ने हात हुँदैन।
कसैसँग पसल हुन्छ, तर ग्राहक हुँदैन।
कसैसँग जीवन हुन्छ, तर जीवनको सबैभन्दा प्रिय व्यक्ति हुँदैन।
यही हो विपद्ले छोडेर जाने निको नहुने घाउ।
अब प्रश्न राहतको मात्रै होइन
विपद्पछि राहत बाँड्नु आवश्यक छ। उद्धार गर्नु अनिवार्य छ। पुनर्निर्माण गर्नैपर्छ। तर त्यतिमै राज्यको जिम्मेवारी पूरा हुँदैन।
अब प्रश्न गर्नुपर्ने बेला हो-यस्ता विपद् आउँदा हामी कति तयार छौँ ?
नदी किनारका बस्ती कति सुरक्षित छन्रु
पूर्वसूचना प्रणाली कति प्रभावकारी छ ?
जलविद्युत् आयोजना र सुरुङभित्र काम गर्ने श्रमिकको आपत्कालीन सुरक्षा योजना कस्तो छरु
उद्धारका लागि आवश्यक प्रविधि र उपकरण पर्याप्त छन्रु
विपद्पछि बेपत्ता नागरिकको खोजी र परिवारको मनो–सामाजिक पुनर्स्थापना कसरी हुन्छरु
यी प्रश्नको उत्तर अर्को विपद् आएपछि होइन, विपद् आउनुअघि नै खोजिनुपर्छ।
किनकि प्रकृतिलाई रोक्न नसकिएला, तर क्षति कम गर्न सकिन्छ।
बाढीको पानी विस्तारै घट्छ। हिलो सुक्छ। भग्नावशेष हट्छ। सडक बन्छ। घर उठ्छन्।
समयले बाहिरी घाउहरू सायद निको पार्छ।
तर आफन्त गुमाएकाहरूको मनमा परेको घाउ ?
त्यहाँ न डोजर चल्छ, न पुनर्निर्माणको बजेट पुग्छ।
त्यो घाउसँगै उनीहरू बाँच्न सिक्छन्।
त्यसैले विपद्पछि हामीले केवल कति मानिस मरे, कति घर बगे र कति करोडको क्षति भयो भनेर मात्रै हिसाब गर्नु हुँदैन।
हामीले यो पनि सम्झनुपर्छ
प्रत्येक भग्न घरभित्र एउटा कथा छ
प्रत्येक बेपत्ताको पछाडि एउटा परिवार छ
प्रत्येक मृत्युको पछाडि अधुरो सपना छ
र प्रत्येक जीवित उद्धारभित्र एउटा ठूलो आशा छ।
विपद्को घाउ देखिँदैन होला, तर त्यसको पीडा पुस्तौँसम्म बाँच्छ।
त्यसैले अबको प्राथमिकता केवल पुनर्निर्माण होइन
फेरि यस्तो पीडा दोहोरिन नदिने तयारी पनि हुनुपर्छ।
किनकि बगेका संरचना फेरि बनाउन सकिन्छ, तर बगेको जीवन फर्काउन सकिँदैन।









रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
ज्येष्ठ नागरिकले पाए दृष्टि