ज्येष्ठ नागरिकले पाए दृष्टि

कपिलवस्तु । लामो समयदेखि आँखाको ज्योति गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका ७० वर्षीय थानेदार चौधरीले मोतियाबिन्दुको शल्यक्रियापछि फेरि संसार देख्न पाएका छन्। आँखाको पट्टी खुलेपछि दृष्टि फर्किएको क्षण उनका लागि निकै भावुक र खुसीको बन्यो।

भदौ १५ गते घर नजिकै सञ्चालन गरिएको आँखा परीक्षण शिविरमा जाँच गर्दा चौधरीमा मोतियाबिन्दु देखिएको थियो। नगरपालिकाले निःशुल्क उपलब्ध गराएको यातायात सेवामार्फत उनलाई आधारभूत अस्पताल पुर्‍याइएको थियो। त्यहाँ शल्यक्रिया भएपछि उनको आँखाको ज्योति फर्किएको हो।

चौधरीले विगतमा उपचारका लागि भारतसम्म जानुपर्ने अवस्था रहे पनि अहिले घरनजिकै निःशुल्क उपचार पाउँदा सहज भएको बताए।

महाराजगन्ज–१ की ६५ वर्षीया राधा कोरीले पनि शल्यक्रियापछि पुनः दृष्टि पाएपछि आफूले गुमिसकेको आशा फर्किएको अनुभव सुनाइन्।

नगरपालिकाले सञ्चालन गरेको दुईदिने निःशुल्क आँखा शिविरमा डेढ सयभन्दा बढी ज्येष्ठ तथा विपन्न नागरिकको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। शिविरमा आँखाको परीक्षण र शल्यक्रियासँगै औषधि तथा कालो चस्मासमेत निःशुल्क उपलब्ध गराइएको थियो। बिरामीका लागि खाना, बसोबास र यातायातको व्यवस्था पनि नगरपालिकाले गरेको थियो।

शल्यक्रियाअघि वडा नं.२, ३, ४ र ११ मा प्रारम्भिक आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो। ती शिविरबाट १८५ जनामा मोतियाबिन्दु पहिचान भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जैसवालले जानकारी दिए।

एटलस एलाइन्स नर्वेको आर्थिक सहयोग र छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक समन्वयमा आधारभूत अस्पतालमा शिविर सञ्चालन गरिएको हो।

नगरप्रमुख अब्दुल कलाम खाँले ज्येष्ठ नागरिक र विपन्न समुदायलाई लक्षित गर्दै नगरभित्रै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अघि बढाइएको बताए। उनका अनुसार नगरपालिकाले विसं २०७४ देखि नियमित रूपमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ र हालसम्म १० हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरिएको छ।

शल्यक्रियापछि नगरप्रमुख खाँ, उपप्रमुख रीताकुमारी चौधरी (कुर्मी) तथा वडा नं. १ का वडाध्यक्ष प्रमोद चौधरीलगायतले बिरामीलाई कालो चस्मा वितरण गरेका थिए।

उपप्रमुख चौधरीले नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले निःशुल्क आँखा शिविरलाई निरन्तरता दिइएको बताइन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ