आश्वासनले रोकिँदैन दलित जेनजीको आन्दोलन

काठमाडौँ । दलित तथा उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्न माग गर्दै १४० दिनदेखि आन्दोलनरत दलित जेनजी एलायन्सले माग कार्यान्वयनको स्पष्ट समयसीमा तोक्न सरकारसँग माग गरेको छ।

एलायन्स र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीबीच शुक्रबार भएको छलफलमा अन्तरमन्त्रालय संवाद अघि बढाउने र माग कार्यान्वयनको समयसीमा निर्धारण गर्ने विषयमा प्रारम्भिक छलफल भएको हो।

एलायन्सले मन्त्री बादीको पहललाई सकारात्मक माने पनि माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने स्पष्ट पारेको छ। ‘हाम्रो प्राथमिकता आश्वासन होइन, मागको कार्यान्वयन हो,’ एलायन्सले भनेको छ।

छलफलमा एलायन्सका संयोजक जीवन तिरुवा, जेनजी अभियन्ता विवेक थापा र स्वतन्त्र दलित नागरिक समाजका संयोजक कर्णबहादुर नेपालीलगायत सहभागी थिए।

एलायन्सले दसैँ–तिहारलगत्तै आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको जनाएको छ। संविधानप्रदत्त अधिकार कार्यान्वयन र दलित तथा उत्पीडित समुदायको हक सुनिश्चित गर्न दबाब जारी राख्ने उसको भनाइ छ।

सरकारसँगको संवादले माग सम्बोधनको बाटो खोले पनि कार्यान्वयनको समयसीमा र ठोस परिणाम नै अबको मुख्य परीक्षा हुने देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ