‘निम्छरो पहल, जब्बर पितृसत्ता’ : घरदेखि राज्यसम्म महिलामाथिको विभेदबारे विमर्श

काठमाडौं । पितृसत्ता विरोधी आन्दोलनमा सक्रिय अधिकारकर्मीहरूले घरपरिवारदेखि समाज, राजनीति र राज्य संयन्त्रसम्म महिला र यौनिक अल्पसंख्यक समुदायले भोग्दै आएको विभेदबारे विमर्श गरेका छन्।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको आयोजनामा शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित ‘निम्छरो पहल : जब्बर पितृसत्ता’ शीर्षकको ‘पितृसत्ता खोजिनिधि सिलसिला–एक’ कार्यक्रममा अधिकारकर्मीहरूले महिला र यौनिक अल्पसंख्यक समुदायमाथिको विभेद र त्यसलाई निरन्तरता दिने सामाजिक संरचनाबारे विमर्श गरेका हुन्।

कार्यक्रमको अनुभूति सत्रमा अधिकारकर्मीहरूले छोरी मात्रै हैन छोरा र छोरीबाहेकका फरक भावनाको भएकै कारण आफूले परिवार र समाजमा भोग्नुपरेका समस्या तथा विभेदका अनुभवसमेत साझा गरेका थिए।

छोरा र छोरीबीचको असमान व्यवहार, महिलाको स्वतन्त्रतामाथिको नियन्त्रण र निर्णय प्रक्रियामा उनीहरूको पहुँच नहुनु पितृसत्ताका प्रमुख कारण हुन्। यस्ता अभ्यास परिवारमा मात्र सीमित नरही राजनीति र राज्यका संरचनामा समेत देखिने भएकाले विभेद अन्त्यका लागि सामाजिक सोच र संस्थागत व्यवहारमा परिवर्तन आवश्यक रहेको विमर्शको विषय थियो।

पितृसत्ताविरुद्धको बहसले महिला,यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व बढाउने विषयसँगै उनीहरूको आर्थिक स्वतन्त्रता, समान अधिकार र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितालाई पनि महत्त्व दिन्छ।

कार्यक्रमले पितृसत्तालाई व्यक्तिगत व्यवहारको समस्या मात्र नभई महिलालाई असमान अवस्थामा राख्ने सामाजिक, आर्थिक र राजनीतिक संरचनाको प्रश्नका रूपमा उठाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ