नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केवल एउटा राजनीतिक दलको नाम मात्र होइन, यो वर्षौँदेखि राज्यसत्ताको मूल प्रवाहबाट पछाडि पारिएका, अवसरबाट वञ्चित, शोषण, विभेद र अन्याय सहन बाध्य श्रमजीवी जनता, किसान, मजदुर, दलित, जनजाति, थारू, मधेसी, महिला तथा उत्पीडित समुदायको अधिकार र मुक्तिका लागि आवाज उठाउने राजनीतिक आन्दोलनको प्रतिनिधि शक्ति हो।
नेपालको राजनीतिक इतिहासलाई फर्केर हेर्दा वर्गीय शोषण, जातीय विभेद, सामन्ती सोच, सामाजिक असमानता र राजनीतिक बहिष्करणविरुद्धका संघर्षमा कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। यही संघर्षको जगमा नेपाली जनताले आफ्नो अधिकार, पहिचान, सम्मान र समान अवसरका लागि आवाज बुलन्द गरेका हुन्।
नेकपाको राजनीतिक उद्देश्य सत्ता प्राप्तिमा मात्र सीमित हुनु हुँदैन। यसको मूल ध्येय समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गर्दै समानता, सामाजिक न्याय, आर्थिक समृद्धि र जनताको वास्तविक अधिकार स्थापित गर्नु हो। राजनीति पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम होइन; यो जनताको सेवा गर्ने, उनीहरूको दुःखमा साथ दिने र अन्यायविरुद्ध संघर्ष गर्ने जिम्मेवारी हो।
आज पनि नेपाली समाजमा थुप्रै प्रश्न अनुत्तरित छन्। दलित समुदायले अझै जातीय विभेद र अपमान सहनुपर्ने अवस्था किन छ ? किसानले आफ्नो उत्पादनको उचित मूल्य किन पाउन सकेका छैनन् ? मजदुरले श्रमअनुसारको सम्मान र पारिश्रमिक किन पाउँदैनन् ? थारू, जनजाति, मधेसी तथा अन्य उत्पीडित समुदायले राज्यका निर्णायक तहमा समान प्रतिनिधित्व किन पाउन सकेका छैनन् ? महिलाले राजनीतिक तथा सामाजिक नेतृत्वमा समान अवसर किन पाउन सकेका छैनन्? गरिब, विपन्न र श्रमजीवी वर्गका सन्तानले गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर किन पाउँदैनन्?
यी प्रश्नको जवाफ खोज्नु र समाधानका लागि संघर्ष गर्नु नै वास्तविक जनपक्षीय राजनीतिक पार्टीको जिम्मेवारी हो।
नेकपाले आफूलाई पछाडि पारिएका वर्गको पार्टी दाबी गर्छ भने त्यो प्रतिबद्धता व्यवहारमै देखिनुपर्छ। भाषणमा समावेशिताको वकालत गर्ने तर व्यवहारमा सीमित व्यक्तिको वर्चस्व कायम राख्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। पार्टीको नेतृत्व, निर्णय प्रक्रिया, संगठन निर्माण र राज्यका विभिन्न तहमा दलित, महिला, थारू, जनजाति, मधेसी, किसान, मजदुर तथा उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्छ।
हामीलाई नारामा सीमित समानता होइन, व्यवहारमा स्थापित समानता चाहिएको छ। आश्वासन होइन, अधिकार चाहिएको छ। चुनावका बेला मात्रै सम्झिने राजनीतिक संस्कार होइन, पार्टीका हरेक निर्णय र नेतृत्वमा सहभागी गराउने अभ्यास चाहिएको छ।
नेकपाले आफ्नो क्रान्तिकारी विरासत जोगाउने हो भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्छ। पार्टीभित्र अवसरको न्यायपूर्ण वितरण हुनुपर्छ। योग्य, इमानदार, संघर्षशील र जनतासँग जोडिएका कार्यकर्तालाई जिम्मेवारी दिनुपर्छ। नेतृत्वमा पुस्ता, वर्ग, समुदाय र विचारको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ।
विशेषगरी दलित समुदायका सवालमा पार्टी अझ स्पष्ट र दृढ हुन आवश्यक छ। जातीय विभेदविरुद्ध वक्तव्य जारी गरेर मात्रै पुग्दैन। विभेदकारी प्रवृत्तिविरुद्ध पार्टीभित्र र समाजमा ठोस कारबाही तथा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ। दलित समुदायका युवालाई नेतृत्वमा स्थापित गर्नुपर्छ। राज्यका सबै तहमा समान अधिकार र सम्मान सुनिश्चित गर्न राजनीतिक पहल गर्नुपर्छ।
उत्पीडित वर्गको नेतृत्व गर्नु भनेको उनीहरूको नाममा राजनीति गर्नु मात्र होइन, उनीहरूलाई आफैँ नेतृत्व गर्ने अवसर र अधिकार प्रदान गर्नु पनि हो। यही मान्यताले मात्रै समावेशी नेतृत्व र वास्तविक सामाजिक न्यायको आधार तयार गर्न सक्छ।
आजको आवश्यकता पार्टीभित्र गुटबन्दी, व्यक्तिवाद र स्वार्थको राजनीति होइन; विचार, सिद्धान्त, संगठन र जनताको पक्षमा उभिने राजनीतिक एकता हो। पार्टी त्यतिबेला मात्र बलियो हुन्छ, जतिबेला सबैभन्दा कमजोर र पछाडि पारिएको कार्यकर्ताले पनि आफ्नो आवाज नेतृत्वसम्म पुर्याउन सक्छ।
हामी नेकपालाई जनताको पार्टी, श्रमजीवी वर्गको पार्टी र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिने राजनीतिक शक्तिका रूपमा स्थापित भएको देख्न चाहन्छौँ। त्यसका लागि नेतृत्वले आत्मसमीक्षा गर्नुपर्छ, आफ्ना कमजोरी स्वीकार गर्नुपर्छ र जनताको अपेक्षाअनुसार कार्यशैली परिवर्तन गर्नुपर्छ।
अन्ततः नेपालको परिवर्तन कुनै एक व्यक्ति, जाति, वर्ग वा समुदायको प्रयासबाट मात्र सम्भव छैन। सबै उत्पीडित, श्रमजीवी र परिवर्तनकामी शक्तिको एकताबाट मात्रै समतामूलक समाज निर्माण गर्न सकिन्छ। नेकपा साँच्चिकै पछाडि पारिएका वर्गको नेतृत्व गर्ने पार्टी बन्ने हो भने यसको नेतृत्वदेखि निर्णय प्रक्रियासम्म उत्पीडित समुदायको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित हुनैपर्छ।
नारा होइन, व्यवहार चाहिन्छ। आश्वासन होइन, अधिकार चाहिन्छ। प्रतिनिधित्वको चर्चा मात्र होइन, निर्णय गर्ने ठाउँमा वास्तविक सहभागिता चाहिन्छ।
हाम्रो संघर्ष कसैलाई विस्थापित गर्न होइन, सबैलाई समान अधिकार र सम्मान दिलाउन हो। हाम्रो राजनीति व्यक्तिगत स्वार्थका लागि होइन, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि हो।
किनकि राजनीति सत्ता प्राप्त गर्ने माध्यम मात्र होइन, उत्पीडित जनताको मुक्ति, अधिकार र सम्मानको अभियान पनि हो।
सम्पूर्ण श्रमजीवी, किसान, मजदुर, दलित, थारू, जनजाति, मधेसी, महिला तथा उत्पीडित समुदायको एकता जिन्दावाद!
सामाजिक न्याय, समानता र समावेशी नेतृत्वको पक्षमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अगाडि बढोस् !








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
नेकपा : उत्पीडित वर्गको नेतृत्व गर्ने पार्टी