दोलखा । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र आकर्षक हिमाली दृश्यका कारण दोलखाको शैलुङ पछिल्लो समय नेपाली चलचित्रकर्मीको रोजाइमा पर्न थालेको छ । चलचित्र छायाङ्कनका लागि सम्भावनायुक्त गन्तव्यका रूपमा विकसित हुँदै गएको शैलुङमा यस वर्ष मात्रै ६ वटा नेपाली चलचित्रको छायाङ्कन सम्पन्न भएको छ । तीमध्ये तीनवटा चलचित्र प्रदर्शनमा समेत आइसकेका छन् ।
चलचित्र छायाङ्कनका लागि शैलुङप्रति बढ्दो आकर्षणले यस क्षेत्रलाई चलचित्र पर्यटनको नयाँ केन्द्रका रूपमा विकास गर्ने सम्भावना देखाएको छ ।
समुद्री सतहबाट करिब तीन हजार मिटरको उचाइमा अवस्थित शैलुङ प्राकृतिक दृश्य, हरियाली डाँडाकाँडा, खुला मैदान, ग्रामीण बस्ती र हिमाली भू(दृश्यका कारण चलचित्र छायाङ्कनका लागि उपयुक्त मानिन्छ । एउटै क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक तथा सांस्कृतिक दृश्य उपलब्ध हुनु यसको विशेषता हो ।
नेपाली चलचित्रहरूको छायाङ्कन बढ्दै गएको शैलुङमा विदेशी चलचित्र निर्माण समूहले समेत छायाङ्कनका लागि तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । विदेशी चलचित्र निर्माण समूहको सम्भावित आगमनले यस क्षेत्रको अन्तर्राष्ट्रिय चलचित्र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउन सक्ने देखिन्छ ।
तर चलचित्र छायाङ्कनका लागि प्राकृतिक सौन्दर्य मात्रै पर्याप्त हुँदैन । सडक तथा यातायात सुविधा, आवास, खानपान, विद्युत्, सञ्चार, प्राविधिक जनशक्ति र छायाङ्कन व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार पनि आवश्यक हुन्छन् ।
यसका लागि शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिकाले संयुक्त रूपमा दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ । शैलुङदेखि तामाकोशीसम्मको भूभागलाई समेटेर चलचित्र छायाङ्कन क्षेत्रका रूपमा विकास गर्न सके यसले दोलखाको पर्यटन, स्थानीय रोजगारी र आर्थिक गतिविधिमा नयाँ सम्भावना सिर्जना गर्न सक्छ ।
स्थानीयस्तरमा होटल तथा होमस्टे व्यवसाय, यातायात, स्थानीय उत्पादन, सांस्कृतिक कार्यक्रम र अन्य सेवा व्यवसाय विस्तार हुने अवसरसमेत चलचित्र छायाङ्कनले प्रदान गर्न सक्छ । चलचित्र निर्माणका क्रममा स्थानीय कलाकार, प्राविधिक तथा श्रमिकलाई सहभागी गराउने वातावरण बनाउन सके स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
यसका लागि दुई स्थानीय तहबीच समन्वय, सम्भावित छायाङ्कन स्थलको पहिचान, आवश्यक पूर्वाधार निर्माण, चलचित्र निर्माण कम्पनीसँग सहकार्य र छायाङ्कनसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था आवश्यक देखिन्छ ।
प्राकृतिक सम्पदाको संरक्षण गर्दै चलचित्र पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन सके शैलुङ केवल पर्यटकीय गन्तव्यमा सीमित रहने छैन, चलचित्र छायाङ्कनको आकर्षक केन्द्रका रूपमा समेत स्थापित हुन सक्नेछ ।
शैलुङमा बढ्दै गएको चलचित्र छायाङ्कनको आकर्षणलाई दीर्घकालीन अवसरमा रूपान्तरण गर्ने जिम्मेवारी अब स्थानीय सरकार र सम्बन्धित सरोकारवालाको काँधमा आएको छ ।








प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा हवाई रुट मुख्य एजेन्डा
दुई करोड ४६ लाख खर्चेर बनाइएको खानेपानी संरचना तीन वर्षदेखि अलपत्र
बर्दियाको जब्दीघाटमा ६७ करोडको नयाँ पुल बन्दै
लोहोरो हानेर श्रीमतीको हत्या
शैलुङ बन्दै चलचित्र छायाङ्कनको नयाँ गन्तव्य