सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौँ। स्वास्थ्य समस्या देखिएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० की १९ वर्षीया सुत्केरी महिला र उनको नवजात शिशुको हवाई उद्धार गरिएको छ।

सुत्केरी महिलामा स्वास्थ्य समस्या देखिनुका साथै नवजात शिशुको जन्मतौल कम र स्वास्थ्यमा जटिलता देखिएपछि दुवैलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो।

सुर्खेतमा नवजात शिशुको थप उपचार सम्भव नभएपछि नियमित हवाई उडानमार्फत काठमाडौंस्थित कान्ति बाल अस्पताल ल्याइएको छ। अहिले शिशुको त्यहीँ उपचार भइरहेको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

दुर्गम क्षेत्रमा स्वास्थ्य जटिलतामा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याएर उनीहरूको जीवन रक्षा गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ