आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । दिवंगत आफन्तको सम्झनामा मनाइने सांस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व विशेषगरी काठमाडौँ उपत्यकामा धुमधामका साथ मनाउने गरिन्छ।

गाई वा गाईको स्वरूपमा मानिसलाई सिँगारेर नगर परिक्रमा गराउने तथा दिवंगत आफन्तको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत सामग्री दान गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार गाईको पुच्छर समाएर वैतरणी नदी पार गर्न सहज हुने विश्वास गरिन्छ।

गाईजात्राका क्रममा दिवंगत व्यक्तिको सम्झनासँगै नाचगान, प्रहसन तथा सामाजिक विकृतिमाथि व्यङ्ग्यात्मक प्रस्तुति पनि गरिन्छ। यही कारण यो पर्व धार्मिकसँगै सामाजिक र सांस्कृतिक अभिव्यक्तिको अवसरका रूपमा समेत स्थापित छ।

इतिहासअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी रानीलाई सान्त्वना दिन गाईजात्राको सुरुआत गराएका थिए। शोकमा रहेका परिवारलाई आफू मात्र नभई अरूले पनि आफन्त गुमाएको अनुभूति गराउने उद्देश्यले सुरु भएको परम्परामा पछि हास्यव्यङ्ग्य र प्रहसन जोडिएको मानिन्छ।

काठमाडौँको हनुमानढोकास्थित पुरानो राजदरबार हुँदै गाईजात्रा निकाल्ने परम्परा अझै कायम छ। काठमाडौँसहित भक्तपुर, ललितपुर, बनेपा, धुलिखेल, पनौती, पोखरा, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, त्रिशूलीलगायत नेवार समुदायको बाक्लो बसोबास रहेका क्षेत्रमा पनि गाईजात्रा मनाइन्छ।

यस वर्ष गाईजात्रा शनिबार परेकोले काठमाडौँ उपत्यकामा पर्वकै अवसरमा दिइने सार्वजनिक बिदा शनिबारकै नियमित बिदासँग परेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ