घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

काठमाडौं। घोप्टेभीरमा लगातार पहिरो खस्न थालेपछि नागढुंगा–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा आवागमन बन्द हुनेछ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार सूचना जारी गर्दै पहिरो पन्छाउन तथा जोखिमयुक्त ढुंगा र माटो हटाउन सडक बन्द गर्ने निर्णय भएको जनाएका छन्।

सडक बन्द हुने अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ। पहिरो हटाउने काम पूरा भएपछि मात्रै यातायात सञ्चालन गरिने प्रशासनले जनाएको छ।

घोप्टेभीरमा बिहीबारदेखि पहिरो खसिरहेको छ। पहिरो झर्ने क्रम नरोकिएकाले पन्छाउने काममा समेत कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ