त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले प्रयास तीव्र पारेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई थप तीव्र पारिएको छ। सुरुङभित्र मानिसहरू फसेको जानकारी पाएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष हटाउने काम गरिरहेको छ।

सुरुङको मुख खोतल्ने तथा खोजी कार्यलाई तीव्रता दिन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ।

तर, क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको सरकारले जनाएको छ।

यसैबीच, उद्धार सहयोगका लागि भारतबाट आएको टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरिसकेको र आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सरकारले सुरुङभित्र फसेकाहरूको उद्धारलाई प्राथमिकतामा राख्दै खोज तथा उद्धार कार्य जारी राखेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ