ललितपुर । आगामी संविधान दिवसको अवसर पारेर ललितपुरको काठमाडौं शिक्षालयले भोटेकोशी बाढी प्रभावितहरूको राहतका लागी २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना गर्ने भएको छ। महालक्ष्मी नगरपालिकाको सहकार्यमा आगामी असोज ३ गते सञ्चालन हुने र्यालीले समाजमा ऐक्यबद्धता, भ्रातृत्व र सहयोगको भावना जागृत गराउने आयोजकले जनाएको छ।
प्राकृतिक विपद्का कारण घरबारविहीन र कष्टकर जीवन बिताउन बाध्य बाढीपीडितहरुलाई तत्काल राहत सामग्री र आर्थिक सहयोग उपलब्ध गराउनु यस र्यालीको उदेश्य रहेको छ। विद्यालयका अध्यक्ष एवं प्रसिद्ध पर्वतारोही प्रकाश राज पाण्डेका अनुसार राष्ट्रिय पर्व संविधान दिवसलाई केवल औपचारिक समारोहमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग प्रत्यक्ष जोड्नका लागि यो रचनात्मक कदम चालिएको हो। कार्यक्रममार्फत सङ्कलन गरिने सम्पूर्ण राहत रकम तथा सहयोग सामग्री पारदर्शी रूपमा प्रभावित क्षेत्रका पीडितहरू सम्म पुर्याइनेछ।
यस परोपकारी अभियानमा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। स्थानीय सरकारको अभिभावकत्व र सहकार्यले यस अभियानलाई थप ऊर्जा प्रदान गर्नुका साथै सामुदायिक एकतालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। नगर प्रमुख श्रेष्ठको उपस्थिति र स्थानीय निकायको सक्रिय समन्वयले नगरवासीमा सामाजिक सेवाप्रतिको उत्साह र चासो बढाएको आयोजक पक्षको भनाइ छ।
असोज ३ गते बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने उक्त र्यालीमा काठमाडौं शिक्षालयका विद्यार्थी, अभिभावक, शिक्षकका साथै नजिकका अन्य शैक्षिक संस्थाका विद्यार्थी एवं सर्वसाधारण साइकलप्रेमीहरूसहित करिब २०० जनाको सहभागिता रहने अनुमान गरिएको छ।
सहभागीहरूको भौतिक क्षमता, उमेर समूह र अनुभवलाई ध्यानमा राख्दै दूरीलाई तीन फरक वर्गमा विभाजन गरिएको छ। जसअन्तर्गत १० वर्षमुनिका बालबालिकाका लागि १० किलोमिटर, १५ वर्षसम्मका किशोरकिशोरीका लागि १५ किलोमिटर र अनुभवी तथा व्यावसायिक साइकलचालकहरूका लागि पूरा २५ किलोमिटरको दूरी निर्धारण गरिएको छ। व्यावसायिक समूहका लागि तय गरिएको २५ किलोमिटरको रुटले महालक्ष्मी नगरपालिकाभित्र पर्ने १ देखि १० सम्मका सम्पूर्ण वडाहरूलाई छुने गरी रेखाङ्कन गरिएको छ। इमाडोलस्थित काठमाडौं शिक्षालयको प्राङ्गणबाट शुभारम्भ हुने र्याली कृष्ण मन्दिर, ग्वार्को, बालकुमारी पुल, खरिबोट, बोझेपोखरी, टिकाथली,बालकोट, चाँगाथली, लुभु र लामाटार बसपार्क हुँदै सुभतारा स्कुलतर्फ अघि बढ्नेछ।
तत्पश्चात् भित्री बाटो हुँदै शंखदेवी मन्दिर पुगेर र्याली फिर्ता सवारीतर्फ मोडिनेछ। फर्कने क्रममा शंखदेवी मन्दिरको भित्री बाटो हुँदै बिसन्डोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका कार्यालय परिक्रमा गरी पुनः काठमाडौँ शिक्षालय परिसरमै पुगेर औपचारिक रूपमा समापन हुनेछ। काठमाडौं शिक्षालयले यस कार्यक्रमलाई केवल एउटा खेलकुद वा मनोरञ्जनात्मक साइकलिङ गतिविधिका रूपमा नभई विपद्मा परेका नागरिकप्रति हार्दिक समवेदना प्रकट गर्ने र वास्तविक सहयोग जुटाउने साझा मानवीय अभियानका रूपमा अघि बढाएको छ।
यस किसिमको गतिविधिले कक्षाकोठाको चौघेराबाहिर निस्किएर विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, मानवीय समवेदना, सहयोग, अनुशासन र सामुदायिक सहभागिताजस्ता व्यावहारिक गुणहरूको विकास गर्न ठूलो मद्दत पुर्याउने अपेक्षा गरिएको छ। “साइकल चलाऔँ, सहयोग जुटाऔँ, बाढीपीडित परिवारलाई साथ दिऔँ” भन्ने मूल मन्त्रलाई सार्थक बनाउन विद्यालय प्रशासनले स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य संस्था, विभिन्न सामाजिक संघसंस्था, छिमेकी विद्यालय, अभिभावक तथा सम्पूर्ण नगरवासीसमक्ष सक्रिय सहभागिता र सहयोगको हार्दिक अपिल गरेको छ। कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी तीव्र पारिएको आयोजक समितिले जनाएको छ।









लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु