नेपाली महिला भारत पुर्‍याएर शोषण गर्नेमाथी अनुसन्धान

काठमाडौं । नेपाली युवतीलाई झुटा आश्वासन र विभिन्न प्रलोभनमा भारत पुर्‍याई शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि सरकारले घटनाको छानबिन अघि बढाएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले असोज ४ गते विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा सार्वजनिक भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयका अनुसार घटनाबारे गृह मन्त्रालयसँग समन्वय भइसकेको छ भने सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई आवश्यक छानबिन गर्न निर्देशन दिइएको छ।

विभिन्न सञ्चारमाध्यमका खोजमूलक सामग्रीमा नेपाली महिला तथा युवतीलाई रोजगारी, विवाह, अध्ययन, वैदेशिक रोजगारी तथा मनोरञ्जनका अवसरको प्रलोभन देखाएर बिचौलियामार्फत भारत लैजाने र त्यहाँ शोषणमा पार्ने गरेको विषय सार्वजनिक भएका थिए। मन्त्रालयले ती विवरणलाई प्रारम्भिक सूचनाका रूपमा लिएर घटनाको सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

छानबिनका क्रममा घटनासँग सम्बन्धित व्यक्ति, बिचौलिया, संस्था, सीमा नाका, यात्राको माध्यम तथा सम्भावित आपराधिक सञ्जालबारे अनुसन्धान गरिने मन्त्रालयले जनाएको छ। साथै, सम्भावित पीडितको पहिचान, आवश्यक प्रमाण संकलन, संरक्षण तथा संलग्न व्यक्तिमाथि अनुसन्धानका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको छ।

मन्त्रालयले नेपाल–भारतको खुला सीमाको दुरुपयोग गरी महिला, युवती तथा बालबालिकालाई सीमापार लैजाने र शोषण गर्ने कार्यमा संलग्नता पुष्टि भए कानुनअनुसार कडा कारबाही हुने स्पष्ट पारेको छ। नेपाली नागरिकलाई सीमापार पुर्‍याउँदैमा नेपालको सरोकार समाप्त नहुने भन्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्ति कानुनी कारबाहीबाट उम्कन नसक्ने मन्त्रालयको भनाइ छ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यस्ता गतिविधिलाई गम्भीर कसुरका रूपमा परिभाषित गरेको मन्त्रालयले जनाएको छ। अनुसन्धानसँगै सम्भावित पीडितको उद्धार, संरक्षण, सुरक्षित घरफिर्ती र पुनर्स्थापनालाई समेत प्राथमिकतामा राखिने विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट आउने अस्वाभाविक रोजगारी, उच्च आम्दानी, विदेश यात्रा, विवाह, मोडलिङ तथा मनोरञ्जनसम्बन्धी आकर्षक प्रस्तावप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। वैदेशिक रोजगारी, अध्ययन वा यात्रामा जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता यकिन गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।

त्यस्तै, राहदानी, नागरिकता, बैंक विवरणलगायत व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई सहजै नदिन मन्त्रालयले सचेत गराएको छ। मानव बेचबिखन, जबर्जस्ती वा प्रलोभनमा सीमापार लैजाने प्रयास तथा शोषणसम्बन्धी सूचना नजिकको प्रहरी कार्यालय, सम्बन्धित सरकारी निकाय वा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई तत्काल जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ