धनगढीमा किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा

धनगढी। धनगढीको होटल सिद्धार्थमा किशोरीहरूको स्वास्थ्य, सरसफाइ, सुरक्षा र अधिकारका बारेमा लक्षित समुदाय र सरोकारवालाहरुबीच सिकाइ समिक्षा गरिएको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा कंचनपुरको कृष्णपुर नगरपालिकामा संचालित किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा गरिएको हो।

समिक्षामा परियोजना अधिकृत सारिका पालले दुई बर्षे परियोजना उपलब्धी प्रतिबेदन प्रस्तूती गरेपछि परियोजना अन्तर्गत भएका गतिविधि, प्राप्त उपलब्धि, चुनौती र सिकाइबारे सरोकारवालाबीच छलफल गरिएको थियो। परियोजनाले विद्यालय तथा समुदायमा किशोरीका लागि सुरक्षित र सहज वातावरण निर्माणसँगै स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धिमा काम गरेको जनाइएको छ।

परियोजनाअन्तर्गत विभिन्न विद्यालयमा किशोरीमैत्री जानकारी कक्ष तथा महिनावारीका समयमा आराम गर्न मिल्ने विश्राम कक्ष निर्माण गरिएको, किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य तथा महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी जानकारी दिनुका साथै आवश्यक सरसफाइ सामग्रीसमेत उपलब्ध गराइएको हस्तलिखित ग्यालरी प्रस्तुती मार्फत जानकारी दिइएको थियो ।

त्यस्तै, ग्यालरी प्रस्तुतीमा उल्लेख भए अनुसार विद्यालय तथा समुदायमा शुद्ध खानेपानीको व्यवस्था र अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ।

किशोरीमाथि हुने लैङ्गिक हिंसा न्यूनीकरण तथा अधिकारका विषयमा सचेतना बढाउन सडक नाटक, अन्तरक्रिया र संवाद कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा परियोजनाबाट प्राप्त सिकाइलाई आगामी कार्यक्रमको प्रभावकारितासँग जोड्नुपर्नेमा जोड दिइएको थियो। किशोरीहरूको वास्तविक आवश्यकता र समस्याको पहिचान गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने, अभिभावक तथा समुदायको सहभागिता बढाउनुपर्ने र विद्यालय, स्वास्थ्य संस्था, स्थानीय तह तथा समुदायबीचको समन्वयलाई थप मजबुत बनाउनुपर्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाल अधिकार समितिका प्रतिनिधि, स्वास्थ्यकर्मी,शिक्षक, किशोरी तथा अभिभावकलगायत सरोकारवालाको सहभागिता रहेको थियो। परियोजना कृष्णपुर नगरपालिकाका वडा नं.१,२,४,७ र ९ मा संचालित थियो ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ