कैलाली । लगातार भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि कैलालीको टीकापुर नगरपालिका–७ बैदीमा सम्भावित बाढी तथा डुबानबाट जोगिन स्थानीयस्तरमा सचेतना अभियान सञ्चालन गरिएको छ। असोज ९ देखि ११ गतेसम्म वर्षा बढ्ने मौसम पूर्वानुमानपछि जोखिममा रहेका बस्तीमा पुगेर माइकिङमार्फत स्थानीयलाई सतर्क गराइएको हो।
जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनलाई आधार बनाएर विपद् व्यवस्थापन समिति बैदीको पूर्वसूचना उपसमितिले ढुंगानाटोल, माझगाउँ, हुलाकीटोल, खयरझाला, डाँडाटोल र कुन्तीपुर क्षेत्रमा अभियान चलाएको हो। स्थानीयलाई सम्भावित बाढी, डुबान तथा पहिरोको जोखिमबारे जानकारी दिँदै आवश्यक तयारी गर्न आग्रह गरिएको छ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नसक्ने भएकाले किनार, खहरे तथा अन्य जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ। अत्यावश्यक कामबाहेक जोखिमपूर्ण समयमा यात्रा नगर्न र घरमा रहेका आवश्यक सामग्री सुरक्षित स्थानमा राख्नसमेत अनुरोध गरिएको विपद् व्यवस्थापन समिति बैदीका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मीले बताए।
उनका अनुसार विपद् आएपछि उद्धार तथा राहतको पर्खाइमा बस्नुभन्दा जोखिमबारे समयमै जानकारी गराई समुदायलाई पूर्वतयारी अवस्थामा राख्नु अभियानको उद्देश्य हो। मौसम पूर्वानुमानलाई गम्भीर रूपमा लिएर नदी, खोला तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न उनले स्थानीयवासीलाई आग्रह गरे।
समितिका सचिव भोजराज ढुङ्गानाले जोखिमको समयमा सूचना अभावका कारण हुनसक्ने क्षति न्यूनीकरणका लागि स्थानीयस्तरमै सूचना प्रवाहलाई प्राथमिकता दिइएको बताए। समुदायलाई समयमै सचेत गराउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले जानकारी दिए।
अभियानमा समितिका अध्यक्ष रेग्मी, सचिव ढुङ्गाना, कोषाध्यक्ष बासुदेव कोइराला तथा पूर्वसूचना उपसमिति संयोजक शुशिला बस्नेतलगायत सहभागी थिए।
बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोगका लागि १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ। स्थानीयवासीलाई मौसम विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने सूचना र चेतावनी नियमित रूपमा हेर्नसमेत आग्रह गरिएको छ।








नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द
एमाले केन्द्रीय कमिटीमा ३३ नेता मनोनीत (सूचीसहित)
एमाले स्थायी कमिटिमा थपिए सात नेता
भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
धनगढीमा किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
बाढी प्रभावित क्षेत्रमा वाइसीएलले थाले अस्थायी घर निर्माण
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले