पहिरोले काठमाडौँ जोड्ने मुख्य राजमार्ग ठप्प

काठमाडौं । लगातारको वर्षापछि पहिरो खस्दा काठमाडौँ भित्रिने र बाहिरिने प्रमुख तीनवटै राजमार्गको यातायात प्रभावित भएको छ। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा विभिन्न स्थानमा पहिरो खसेपछि आवागमन रोकिएको हो।

धादिङको कृष्णभिरसहित पृथ्वी राजमार्गका सातभन्दा बढी स्थानमा ढुंगासहितको पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरो पन्छाउने काम भइरहे पनि वर्षा नरोकिएका कारण सडक तत्काल सञ्चालनमा ल्याउन कठिन भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यसअघि सडक भासिएपछि कृष्णभिर क्षेत्रमा बनाइएको डाइभर्सनमा समेत पहिरो खसेको छ। जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

यता, काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा बीपी राजमार्ग पनि अवरुद्ध भएको छ। भारी वर्षाको सम्भावना कायमै रहेकाले प्रशासनले रातिको समयमा यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको छ।

कान्तिलोकपथमा पनि ललितपुर र मकवानपुरतर्फका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात ठप्प भएको छ। लगातार वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको भन्दै प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ