जातीय विभेदको आरोपमा तीन शिक्षक पक्राउ

कैलाली । गौरीगङ्गा नगरपालिका–६ मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन शिक्षक पक्राउ परेका छन्।

दलित विद्यार्थी तथा अभिभावकले दिएको उजुरीका आधारमा बुधबार शिक्षकहरू भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरासिंह महराका अनुसार पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ।

विद्यालयमा दलित विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, एक शिक्षिका र कार्यालय सहयोगीमाथि जातीय आधारमा विभेदपूर्ण व्यवहार गरेको आरोप उनीहरूमाथि लगाइएको छ।

विद्यालय व्यवस्थापन समितिका सदस्य कैलाश आउजीका अनुसार अध्यक्ष चक्रबहादुर विक, शिक्षिका बिना विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई तथा दलित विद्यार्थीमाथि विभेद भएको आरोप छ।

घटना सार्वजनिक भएपछि स्थानीयवासी, विद्यार्थीका अभिभावक तथा विभिन्न सरोकारवालाले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

तीनै जना शिक्षकहरुले विद्यालयमा पानी, चिया,खाजा र व्यवहारमा जातीय विभेद गर्ने गरेको पिडितहरुको आरोप छ । स्थानीय दलित अधिकारकर्मीहरुले असोज ११ गते जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई दोषीलाई कानूनी कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई निषेध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ