बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध चीन–भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको कुनौटा भिरमा मार्ग पुनः जोडिएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटामा कालीगण्डकी नदीले करिब २५० मिटर सडक कटान गरेर बगाएपछि चार दिनको प्रयासमा बुधबार दुईतर्फबाट सडक जोडिएको हो।

बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार सडकमा फिलिङ र लेभल मिलाउने काम पूरा गर्न अझै एक–दुई दिन लाग्नेछ। बुधबार मात्रै सडक निर्माणका लागि छवटा एक्साभेटर र छवटा टिप्पर परिचालन गरिएको थियो।

बाढीपहिरोले २०२ किलोमिटर लामो सडकखण्डका ५५ स्थानमा क्षति पुर्‍याएको थियो। कुनौटाबाहेक अन्य स्थानमा पनि पहिरो पन्छाउने, सडक फराकिलो बनाउने र नयाँ मार्गको ग्रेड तथा घुम्ती मिलाउने काम भइरहेको छ।

सडक विभागले प्रारम्भिक रूपमा रु. ८० देखि ९० करोडसम्म क्षति भएको र पूर्ण पुनर्निर्माणमा करिब रु. ३ अर्ब लाग्ने अनुमान गरेको छ। कोरला नाका जोड्ने यो सडक चीनसँगको व्यापार तथा मुस्ताङको पर्यटन र कृषि उत्पादनका लागि महत्वपूर्ण भएकाले छिटो सञ्चालनमा ल्याउन काम तीव्र पारिएको छ

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ