भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेघन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटमा बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा नेपाल–अमेरिका सहकार्य थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना जनाइन्। उनले प्रभावित क्षेत्रको अवस्था र पुनर्स्थापनाका प्रयासबारे चासो राख्दै नेपालसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री बादीले नेपाल र अमेरिकाबीच सन् १९४७ देखि कायम कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास र विकास सहकार्यमा आधारित रहेको बताइन्। उनले गत अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको बाढीले महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना गरेको जानकारी दिँदै प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा गरिएको बताइन्।

बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकारले उपलब्ध स्रोत, साधन तथा जनशक्ति परिचालन गरिरहेको मन्त्री बादीले जानकारी दिइन्। मन्त्रालयले जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।

भेटमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमा पनि छलफल भएको थियो। मन्त्री बादीले अमेरिकी विदेश मन्त्रालयको ट्राफिकिङ इन पर्सन्स (टीआईपी) प्रतिवेदनमा उठाइएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ र राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिइन्।

पीडितको संरक्षण, अनुसन्धान तथा अभियोजन, पुनर्स्थापना र सहायता संयन्त्रलाई थप प्रभावकारी बनाउने काम अघि बढिरहेको उनले बताइन्। नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधनको प्रक्रिया अघि बढाएको र सुरक्षित तथा व्यवस्थित श्रम आप्रवासनका लागि राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ लागू गरेको जानकारीसमेत भेटमा दिइएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ