रसुवाका चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

रसुवा । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका चार विद्यालयका ४५ विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ, धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीले जिल्लाका तीन सरकारी र एक निजी विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

पूर्ण क्षति भएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टिमुरे, मालिकादेवी आधारभूत विद्यालय, पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।

सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवी आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटीका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना छन्।

बाढी प्रभावित विद्यालयका विद्यार्थीको पठनपाठन निरन्तर राख्न वैकल्पिक व्यवस्था गरिएको छ। चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँका विद्यालयमा पठाइएको छ।

त्यस्तै, मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी माध्यमिक विद्यालय, भलायडाँडामा तथा मोडर्न ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माध्यमिक विद्यालयमा बसोबाससहित पठनपाठनको व्यवस्था मिलाइएको छ।

बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए। नौकुण्ड गाउँपालिकामा भने भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो।

— रासस

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ