हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

मुस्ताङ । दसैँ नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल बढ्न थालेको छ। यसै क्रममा माथिल्लो डोल्पाबाट हिउँ छिचोल्दै करिब एक हजार भेडाच्याङ्ग्रा जोमसोम आइपुगेका छन्।

डोल्पाका व्यापारी शेरबहादुर रोकायासहित पाँच जनाको टोलीले एक साताभन्दा बढी समय लगाएर शनिबार साँझ भेडाच्याङ्ग्रा जोमसोम ल्याएको हो। हाल ती भेडाच्याङ्ग्रा घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएका छन्।

रोकायाका अनुसार डोल्पो बुद्ध गाउँपालिकाबाट असोज ९ गते जोमसोमतर्फ हिँडेको टोली असोज १७ गते साँझ जोमसोम पुगेको हो। मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा भारी वर्षा र हिमपातका कारण बाक्लो हिउँ जमेकाले यात्रा निकै कठिन भएको उनले बताए।

विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका रोकायाले यसपटक जोखिम मोलेर हिउँकै बीचबाट च्याङ्ग्रा ल्याएको बताए। उनले माथिल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरेका हुन्।

नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने च्याङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै पुगेर च्याङ्ग्रा खरिद गर्नुपरेको रोकायाको भनाइ छ। उनका अनुसार यस वर्ष डोल्पाबाट आठ हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी छ।

गत वर्ष दसैँमा ११ हजारभन्दा बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएका थिए। यस वर्ष भने गत वर्षको तुलनामा कम सङ्ख्यामा च्याङ्ग्रा झरिरहेका छन्।

रोकायाले यसपटक च्याङ्ग्राको व्यापारमा ठूलो लगानी गरेको बताए। गत वर्ष व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक बजार राम्रो हुने अपेक्षा रहेको उनको भनाइ छ।

बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरा लैजान समस्या हुने व्यापारीको चिन्ता छ। दसैँपछि डोल्पा फर्किने बाटोसमेत सरकारले समयमै सहज बनाउनुपर्ने रोकायाले बताए।

‘हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ। दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो,’ उनले भने।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ