दमौली । परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि वैकल्पिक खेती रोजेका तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका महिलालाई यस वर्ष सयपत्री फूलले उत्साहित बनाएको छ। आफूले उत्पादन गरेको फूल बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्ने अवस्था हटेको छ। ग्राहक नै बारीमा पुगेर फूल किन्न थालेपछि किसानलाई बिक्रीको चिन्ता छैन।
छिम्लीश्वारा चण्डेनी फलफूल तथा तरकारी उत्पादक कृषक समूहमा आबद्ध २३ महिलाले १६ रोपनी क्षेत्रफलमा सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन्। यस वर्ष तिहारमा मात्रै दुई हजार ७६० किलो फूल बिक्री भएको समूहकी अध्यक्ष जितमाया रानाले बताइन्।
उनका अनुसार उत्पादित फूल दमौली, म्याग्दे, खैरेनीटार, पोखरा र आँबुखैरेनीसम्म पुगेको छ। बजारमा प्रतिकिलो ३०० रुपैयाँ र बारीमै आएर खरिद गर्ने ग्राहकलाई २०० रुपैयाँमा बिक्री गरिएको छ।
‘फूल उत्पादन भएपछि कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता थियो। तर ग्राहक आफैँ बारीमा आएर किन्नुभयो। सबै फूल बिक्री भयो, यसले हामीलाई निकै उत्साहित बनाएको छ,’ अध्यक्ष रानाले भनिन्।
किसानले फूलका साथै माला बनाएर पनि बिक्री गरेका छन्। फूल र माला दुवैको माग भएपछि आम्दानीको थप अवसर मिलेको छ।
केही वर्षअघिसम्म यहाँका महिलाले बारीमा मकै, मास र बोडीखेती गर्दै आएका थिए। परम्परागत खेतीमा मिहिनेत धेरै भए पनि आम्दानी कम भएपछि उनीहरूले गत वर्षदेखि सामूहिक रूपमा सयपत्री फूलखेती सुरु गरेका हुन्। बजारमा विदेशी फूलको निर्भरता घटाउने र स्थानीय उत्पादन बढाउने उद्देश्यले सुरु गरिएको खेतीले पहिलो वर्षमै राम्रो बजार पाएको थियो।
गत वर्ष छ रोपनीमा गरिएको खेतीबाट उत्साहित बनेका महिलाले यस वर्ष क्षेत्रफल झन्डै तीन गुणा बढाएर १६ रोपनी पुर्याएका हुन्। गाउँपालिकाले फूलखेतीमा ७५ प्रतिशत अनुदान दिएपछि खेती विस्तार गर्न थप सहयोग पुगेको समूहकी कोषाध्यक्ष सन्सरी रानाले बताइन्।
सामूहिक खेतीले श्रमको बाँडफाँट, उत्पादनको हेरचाह र बिक्री व्यवस्थापन सहज बनाएको किसानको अनुभव छ। बारीमै ग्राहक पुग्न थालेपछि ढुवानी खर्च, बजार खोज्ने झन्झट र फूल बिक्री नभएर बिग्रिने जोखिमसमेत घटेको छ।
परम्परागत खेतीबाट वैकल्पिक व्यवसायमा लागेका महिलाका लागि सयपत्री फूलखेती अहिले आम्दानीको नयाँ आधार बनेको छ। आफ्नै माटोमा फुलेको फूलले बजार पाउन थालेपछि उनीहरू व्यावसायिक खेतीलाई अझ विस्तार गर्ने उत्साहमा छन्।








प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन : गगन थापा
मोदीसँग मख्ख नपर्न बालेनलाई भारतीय सांसद महुआको सन्देश
फूलखेतीले बदलेको २३ महिलाको जीवन
प्रधानमन्त्रीको भारत भ्रमणबारे नेकपाको मिश्रित प्रतिक्रिया
बालेनको भारत भ्रमणमा राष्ट्रिय मुद्दा ओझेलमा परेको पोखरेलको टिप्पणी