बालेनको भारत भ्रमणमा राष्ट्रिय मुद्दा ओझेलमा परेको पोखरेलको टिप्पणी

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण मुद्दा ओझेलमा परेको टिप्पणी गरेका छन्।

हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि सीमा विवाद, सन् १९५० को सन्धि पुनरावलोकन र नेपाली उत्पादनको भारतीय बजारमा पहुँचका विषयमा ठोस छलफल हुन नसकेको उनको भनाइ छ।

प्रेस चौतारी नेपाल, दाङले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले प्रधानमन्त्रीबाट सीमा समस्या र ऐतिहासिक सन्धिका विषयमा पहल हुने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको बताए।

उनले नेपाली चिया, अलैँची र तरकारीले भारतीय बजारमा सहज प्रवेश नपाएको विषयमा सरकारले चासो नदिएको आरोप लगाए। हवाई रुटसम्बन्धी सहमतिको कार्यान्वयनमा समेत उनले आशंका व्यक्त गरे।

पोखरेलले वर्तमान सरकार सुशासन, विकास निर्माण र सेवा प्रवाहमा कमजोर रहेको आरोप पनि लगाए। सरकार सामाजिक सञ्जालमा केन्द्रित भएको तर जनताका वास्तविक समस्या समाधान गर्न नसकेको उनको टिप्पणी थियो।

सरकारप्रति बढ्दो जनअसन्तुष्टिले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने चेतावनी दिँदै उनले लोकतन्त्रको रक्षाका लागि एमाले अन्य दलसँग सहकार्य गर्न तयार रहेको बताए।

उनले आगामी स्थानीय निर्वाचन निर्धारित समयमै हुनुपर्नेमा जोड दिँदै वामपन्थी शक्तिबीच चुनावी तालमेलको सम्भावना पनि औँल्याए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ