पाल्पा । साहित्यकार आरबी निश्चलको सातौँ कृति कविता संग्रह ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण गरिएको छ।
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको नेपाली विभागले आयोजना गरेको कार्यक्रममा क्याम्पस प्रमुख डा. टङ्कप्रसाद पन्थले कृतिको लोकार्पण गरेका हुन्। कार्यक्रम अनिवार्य नेपाली विभागका अध्यक्ष महेन्द्र पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो।
लोकार्पण कार्यक्रममा क्याम्पस प्रमुख पन्थले निश्चलका पछिल्ला कृतिहरूमा निरन्तर परिष्कार र परिमार्जन देखिँदै गएको बताए। समकालीन नेपाली कविताको धारालाई प्रतिनिधित्व गर्ने निश्चलका कवितामा मानवतावाद, जीवनबोध, अस्तित्ववादी चेतना तथा सीमान्तकृत समुदायका अनुभूति मुखरित भएको उनको भनाइ थियो। तीन हरफदेखि ३०५ हरफसम्मका कवितामा भावको पूर्णता र कवित्वलाई सन्तुलित रूपमा प्रस्तुत गर्न सक्नु निश्चलको सिर्जनात्मक सफलता रहेको उनले उल्लेख गरे।
कृतिमाथि समीक्षा गर्दै समीक्षक प्रतिभा पौडेलले कविताका तत्त्वका आधारमा ‘ब्रह्माण्डको अन्त्य’को संरचना, आवरण, भाव पक्ष र कला पक्षको विश्लेषण गरिन्।
साहित्यकार प्रेम खरालले कृतिमाथि प्रकाश पार्दै निश्चलका कवितामा अभिव्यक्त अनुभूति र भाव पक्षबारे चर्चा गरे। उनले संग्रहका प्रतिनिधि कविता वाचन गर्दै कविताभित्रको मर्म प्रस्तुत गरेका थिए। निश्चलका कवितामा अस्तित्ववादी चेतना केन्द्रमा रहेको उनको निष्कर्ष थियो।
जनप्रतिनिधि तथा सञ्चारकर्मी राजेशकुमार अर्यालले सामान्य सिर्जनात्मक यात्राबाट राष्ट्रिय स्तरमा परिचित साहित्यकारका रूपमा निश्चलले आफूलाई स्थापित गरेको बताए। जीवन भोगाइका अनुभूतिलाई विद्रोही चेतनासहित कवितामा अभिव्यक्त गर्नु निश्चलको विशिष्ट प्रवृत्ति रहेको उनले उल्लेख गरे।
कृतिकार निश्चलले आफ्नै परिवेश र जीवनभोगाइले आफूलाई सिर्जनातर्फ डो¥याएको बताए। कृति प्रकाशन तथा लोकार्पणमा सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरे।
साहित्यकार रामप्रसाद अर्याल र मन गहिरेले निश्चलको सिर्जनात्मक यात्राको प्रशंसा गर्दै आगामी साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा साहित्यकार तथा समालोचक डा. शंकरप्रसाद गैरेले सहभागीलाई स्वागत गर्दै निश्चलको व्यक्तित्व र कृतित्वबारे संक्षिप्त चर्चा गरेका थिए। कार्यक्रमको सञ्चालन नेपाली विभागका सदस्य चतुर्भुज नेपालले गरेका थिए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
त्यो रगतले के बदलियो ?