काठमाडौं । नेपाली साहित्यकी विशिष्ट स्रष्टा पारिजातका साहित्यिक रचनालाई चित्रकलामार्फत प्रस्तुत गरिएको प्रदर्शनी ‘क्यानभासमा पारिजात’ सुरु भएको छ। म्हैपीस्थित पारिजात स्मृति केन्द्रमा सुरु भएको प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनी उद्घाटन गर्दै साहित्यिक कृतिमा आधारित चित्र सिर्जना गर्नु सिर्जनात्मक अभ्यासको नयाँ आयाम भएको बताए। एउटै कृतिलाई साहित्यकार र चित्रकारले फरक दृष्टिकोणबाट बुझ्ने भएकाले यस्ता कलाकृतिले सिर्जनात्मक अन्तरसमेत उजागर गर्ने उनको भनाइ थियो।
कलाकार सौरगङ्गा दर्शनधारीले साहित्यिक रचनालाई चित्रमा उतार्नु चुनौतीपूर्ण भए पनि यसले कृतिको भाव र गहिराइ बुझ्न सघाउने बताइन्। रङ र रेखामार्फत कलाकारहरूले पारिजातका रचनाको मर्म प्रस्तुत गरेको उनको धारणा थियो।
प्रतिष्ठानका पूर्वसदस्य सचिव देवेन्द्र थुम्केलीले साहित्यिक कृतिमा आधारित चित्रले रचनालाई नयाँ आयाम दिने बताए। शब्दलाई दृश्य कलामा रूपान्तरण गर्ने यस्तो अभ्यासले सामाजिक रूपान्तरण र जागरणमा समेत योगदान पुर्याउन सक्ने उनले उल्लेख गरे।
पारिजात स्मृति केन्द्रका संरक्षक तथा संस्थापक अध्यक्ष सुकन्या वाइबाले कलाकारहरूको सिर्जनाले पारिजातका कृतिप्रति सम्मान प्रकट गरेको बताइन्। केन्द्रका अध्यक्ष इन्दिरा दलीले चित्रकलामार्फत पारिजातको व्यक्तित्व र साहित्यिक योगदानलाई थप उजागर गर्ने प्रयास भएको धारणा राखिन्।
डा. महेश मास्केले पारिजातको साहित्यिक योगदान र साहित्य तथा चित्रकलाबीचको सम्बन्धबारे चर्चा गर्दै दृश्य कलामार्फत उनको व्यक्तित्व र कृतित्वलाई दीर्घकालसम्म जीवन्त राख्ने प्रयासको प्रशंसा गरे।
प्रदर्शनीमा पारिजातका कविता, कथा, उपन्यास र आत्मसंस्मरणमा आधारित १६ जना कलाकारका चित्र राखिएका छन्।
प्रदर्शनीमा नारदमणि हार्तम्छाली, देवेन्द्र थुम्केली, एससी सुमन, पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, वासु क्षितिज, केशवराज खनाल, डिबी भण्डारी, लीलाधर केसी, मोहन शिवाकोटी, किशोर रानाभाट, रसिकराज, मनरा प्रजापति र शोभा ढकालका कलाकृति समावेश छन्।
आयोजकका अनुसार प्रदर्शनी एक सातापछि समापन गर्ने तयारी छ। आवश्यकताअनुसार अवधि थप गर्न सकिनेछ।








लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा
नेपाली समाजको दोग्ला चरित्र
‘निम्छरो पहल, जब्बर पितृसत्ता’ : घरदेखि राज्यसम्म महिलामाथिको विभेदबारे विमर्श
तार तान्ने क्रममा सशस्त्रका असई महाकालीमा बेपत्ता
त्यो रगतले के बदलियो ?
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण