काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको भएपनि त्यस्तो युद्धविरामको प्रकृतिबारे प्रश्न बाँकी रहेको बताएका छन् । उनले युद्धविरामबारे युक्रेनसँग केही कडा शर्तहरू पनि अघि सारेका छन् ।
अमेरिकासँग ३०–दिने युद्धविरामका निम्ति तयार भएको भनेर युक्रेनले गरेको सहमतिबारे पुटिनको पछिल्लो प्रतिक्रिया आएको हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रतिक्रियालाई कुटिलको संज्ञा दिएका छन् । उनले रुसविरुद्ध थप आर्थिक प्रतिबन्धको आह्वान पनि गरेका छन् । अमेरिकाले रुसको तेल, ग्यास र ब्याङ्किङ क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ ।
मस्कोमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युद्धविराम प्रस्तावबारे भने, ‘विषय सही हो, यसलाई हामी समर्थन गर्छौँ । तर छलफल गर्नुपर्ने केही प्रश्नहरू छन् ।’
युद्धविरामले दीर्घकालीन शान्ति स्थापना गर्नुपर्ने र संकटको जरोको समाधान हुनुपर्ने पुटिनको भनाइ छ । पुटिनका अनुसार विवादको एउटा विषय रुसको कुस्र्क क्षेत्र हो । त्यहाँ युक्रेनले गत वर्ष अतिक्रमण गरेर केही भूभाग कब्जामा लिएको थियो । कुस्र्क अहिले पूर्णरूपमा रुसको नियन्त्रणमा आइसकेको छ र त्यहाँ युक्रेनी फौजलाई तितरबितर पारिएको छ ।
‘उनीहरू त्यहाँबाट जान खोजिरहेका छन् । तर हाम्रो नियन्त्रण छ । तिनका सामग्रीहरू त्यत्तिकै छाडिएका छन्’, पुटिनले भने । कुस्र्कमा युक्रेनीहरूसमक्ष आत्मसमर्पण या मृत्यु दुईवटा विकल्प रहेको पुटिन भन्छन् ।
युद्धविरामको प्रस्तावप्रति आफ्ना प्रश्नहरू रहेका भन्दै पुटिनले सोधे, ‘ती ३० दिन कसरी उपयोग गरिन्छ? के युक्रेनका निम्ति पुनः परिचालनको मौका दिएर? पुनः सशस्त्रीकरण गरेर? मानिसहरूलाई प्रशिक्षित गरेर? वा ती केही पनि हुँदैना ?’ तिनको नियन्त्रण कसरी गर्ने भन्ने प्रश्न पनि पुटिनको छ ।
लडाइँ रोक्ने आदेश कसले दिन्छ प्रश्न गर्दै उनले २,००० किलोमिटर क्षेत्रमा सम्भावित युद्धविराम उल्लंघन भएको कसले निक्र्योल गर्ने जस्ता प्रश्न उठाएका छन् ।यी प्रश्नका समाधानका निम्ति दुवै पक्षबाट गहन काम हुनुपर्ने उनको भनाइ छ ।
भिडिओ सम्बोधनमा जेलेन्स्कीले पुटिनले सोझै नाइँ नभने पनि युद्धविराम प्रस्तावलाई व्यवहारमा उनले अस्वीकार गर्ने तयारी गरेका जनाएका छन् ।
पुटिनको टिप्पणी र जेलेन्स्कीको प्रतिक्रियापश्चात् दुवै पक्षका अडानमाझ अब स्पष्ट विभाजन देखा परेको छ ।युक्रेन दुई चरणको प्रक्रिया चाहन्छ–चाँडै हुने युद्धविराम र त्यसपछि दिगो समाधानका वार्ता ।
रुस यी दुवै विषयलाई छुट्ट्याउन चाहँदैन । एउटै समझदारीले सबै मुद्दा निक्र्योल होस् भन्ने उसको भनाइ छ । युक्रेन रुसमाथि आफूले दबाव बढाउन सक्ने ठान्छ । रुसले समय खेर फालिरहेको देखाउन सकिन्छ भन्ने उसलाई लाग्छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
दिल्ली पुगे चीनका राष्ट्रपति