काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
दुर्घटना भएको तीन दिनपछि रास्वपा प्रवक्ता मनिष झाले शनिबार विज्ञप्ती जारी गरी मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्।
रूकुम पूर्वबाट रोल्पाको जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिका–१मा बिहीबार दिउँसो दुर्घटना भएको थियो।
करिब ७०० देखि ८०० मिटर गहिरो भिरमा खसेको उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भएको थियो।
रास्वपाले विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद उद्धारमा खटिएका सुरक्षा निकाय तथा टोलीको साहस र समर्पणको उच्च प्रशंसा गरेको छ।
घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
यस घटनाले देशको सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको रास्वपाको भनाइ छ।
‘यस्ता दुर्घटना केवल तथ्यांक मात्र नभई नागरिकको जीवनसँग जोडिएका संवेदनशील विषय हुन्,’ विज्ञप्तिमा भनिएको छ।
आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा जोड दिने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ।
नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी कदम चाल्नुपर्नेमा रास्वपा स्पष्ट रहेको जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी