काठमाडौँ आइपुगे भारतीय विदेशसचिव

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री बालेन साहको आगामी भारत भ्रमणको तयारी र नेपाल–भारत सम्बन्धका विषयमा छलफल गर्न उनी नेपाल आएका हुन्।

परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा आएका मिस्रीले आजै आफ्ना नेपाली समकक्षी राईसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा प्रधानमन्त्री साहको मंसिर ६ देखि ८ गतेसम्म हुने भनिएको भारत भ्रमणको तयारी मुख्य एजेन्डा रहने बताइएको छ।

भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट गर्ने स्रोतले जनाएको छ।

त्यसैगरी उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षको समीक्षा गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई थप विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ।

मिस्री बिहीबार (कात्तिक १९ गते) भारत फर्किने कार्यक्रम छ।

यसअघि विदेशसचिव बनेलगत्तै उनी गत साउन २७ गते नेपाल आएका थिए। त्यसपछि भदौ १ गते पनि काठमाडौं आएका मिस्रीले सन् २०२४ मा पहिलो औपचारिक नेपाल भ्रमण गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ