रवि–बालेनको मतभेद सतहमा

काठमाडौं । प्रधानमन्त्री बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सरकारको पछिल्लो निर्णयलाई लिएर मतभेद देखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णयबारे लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री साहले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्।

बुधबार सरकारले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गरेपछि लामिछानेले बिहीबार चितवन पुगेर सरकारको निर्णयको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए।

उनले सुरक्षा निकायको नेतृत्व परिवर्तन संवेदनशील विषय भएकाले सरकारले निर्णयको आधार सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए। पार्टीले सरकारका सबै निर्णयमा समर्थन जनाउन आवश्यक नरहेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार फरक धारणा राख्ने र सरकारलाई निर्देशनसमेत दिने बताएका थिए।

लामिछानेको अभिव्यक्तिपछि प्रधानमन्त्री साहले बिहीबार राति फेसबुकमार्फत प्रतिक्रिया दिएका हुन्। उनले आफ्नो नेतृत्वको सरकार अहिले देश जोगाउने अभियानमा रहेको दाबी गर्दै पार्टीभित्रको नेतृत्व तहमा देखिएको संघर्षप्रति व्यंग्य गरेका छन्।

‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन्,’ शाहले लेखेका छन्, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’

यसअघि रास्वपाका प्रवक्ता जगदीश खरेलसहित अन्य नेताहरूले पनि आईजीपी परिवर्तन गर्ने निर्णय पार्टीसँग परामर्श नगरी गरिएको भन्दै असन्तुष्टि जनाएका थिए।

सत्तारुढ दलकै सभापति र वरिष्ठ नेताबीच सरकारको निर्णयलाई लिएर सार्वजनिक रूपमा फरक धारणा आउन थालेपछि रास्वपाभित्रको आन्तरिक मतभेद थप चर्चामा आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ