काठमाडौं : स्वतन्त्र दलित नागरिक समाज र चमार कल्याण समाज नेपालद्वारा नेपाल सरकारबाट हालै नियुक्त हुनुभएका सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. जितेन्द्र परियार तथा पशुपति क्षेत्र विकास कोषकी सदस्य संगिता कुमारी रामलाई बधाई तथा सम्मान गरिएको छ।
काठमाडौंको साप फाल्चा, बबरमहलमा आयोजित कार्यक्रममा स्वतन्त्र दलित नागरिक समाजका अध्यक्ष कर्ण बहादुर नेपाली र चमार कल्याण समाज नेपालका अध्यक्ष डा. दिनेश चमारले नवनियुक्त दुवै व्यक्तित्वलाई खादा, माला र बुकी प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रममा उपस्थित सहभागीहरूले समेत खादा ओढाएर, टीका लगाई तथा शुभकामना व्यक्त गर्दै बधाई दिएका थिए।
सम्मानपछि मन्तव्य व्यक्त गर्दै सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. जितेन्द्र परियारले आफ्नो नियुक्तिलाई अवसर र चुनौती दुवैका रूपमा लिएको बताए। उनले सकारात्मक सोच, इमानदारी र जिम्मेवारीका साथ कार्यसम्पादन गर्दै सफल कार्यकाल पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, आफ्नो कार्यकालभरि राज्यको मूल प्रवाहबाट पछाडि पारिएको दलित समुदायको हित र अधिकारका पक्षमा विशेष ध्यान दिएर काम गर्ने प्रतिबद्धता पनि जनाए।
त्यसैगरी, पशुपति क्षेत्र विकास कोषकी सदस्य संगिता कुमारी रामले नेपालकै इतिहासमा दलित समुदायभित्रका पनि मधेसी दलित महिलाले पशुपति क्षेत्र विकास कोषजस्तो महत्वपूर्ण धार्मिक संस्थामा जिम्मेवारी पाउनु सम्पूर्ण समुदायका लागि गौरवको विषय भएको बताइन्। उनले पशुपति क्षेत्रमा दलित समुदायको पहुँच, सम्मान र सहुलियत सुनिश्चित हुने व्यवस्था कायम गर्न आफूले सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा विभिन्न सामाजिक अगुवा, दलित अधिकारकर्मी, बुद्धिजीवी तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नवनियुक्त पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनीहरूले सामाजिक न्याय, समावेशिता र समानताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा