काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणमा सरकारले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले हत्या, हिंसा र बलात्कारलगायतका गम्भीर अपराधको अनुसन्धान सरकारले निरन्तर गरिरहेको बताए ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि दोषी पत्ता लगाएर न्याय दिन नसकेको विषय उठाएका थिए ।
उनले ‘निर्मला पन्त हत्या प्रकरणमा सरकारले दोषी पत्ता लगाउन नसक्नु राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मलालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भन्दै प्रश्न गरेका थिए ।
जवाफमा गृहमन्त्री गुरुङले विगतका सरकारतर्फ संकेत गर्दै ‘तपाईंहरू सत्तामा हुँदा किन नगर्नुभएको ?’ भन्दै प्रतिप्रश्न गरे ।
उनले भने, ‘सरकार मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर लागिरहेको छ ।
यो गृहमन्त्रालयको मुख्य जिम्मेवारी भएकोले पनि हामी सचेत छौँ । हत्या, हिंसा, बलात्कारलगायतका अपराधको अनुसन्धान हामीले क्रमबद्ध रूपमा गरिरहेका छौँ ।’
निर्मला पन्त प्रकरण संवेदनशील विषय भएको भन्दै उनले यस विषयमा धेरै बोल्नु उचित नहुने बताए ।
‘माननीयज्यूले उठाउनुभएको विषय एकदमै संवेदनशील छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु । हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको हो ? यस्तो गम्भीर विषयमा निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सूक्ष्म रुपले अनुसन्धान गरेर नतिजा दिने हो ? त्यसकारण यस विषयमा धेरै बोल्नु उचित हुँदैन,’ उनले भने ।
गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणमा अनुसन्धान भइरहेको भन्दै अबदेखि यस विषयलाई राष्ट्रिय सभा र प्रतिनिधि सभामा नउठाउन सांसदहरूलाई आग्रह गरे ।
उनले भने, ‘यस विषयमा हामीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ । अब आइन्दा यस्ता प्रश्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा नउठाइदिन पनि आग्रह गर्न चाहन्छु ।’
उनले बलात्कारजस्ता संवेदनशील विषय संसदमा उठाउँदा पीडित परिवारलाई थप पीडा पुग्न सक्ने भन्दै यस्ता विषय व्यक्तिगत रूपमा राख्न आग्रह गरे ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी