सङ्घीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। दुवै सदनका बैठक सिंहदरबारस्थित संसद् भवनमा बस्न लागेका हुन्।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा विभिन्न विधेयकलाई अघि बढाउने सम्बन्धमा प्रस्ताव तथा निर्णयका प्रक्रिया अघि बढाइने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।

त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ। मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।

यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

आजका बैठकबाट विभिन्न विधेयकलाई संसदीय प्रक्रियामा थप अघि बढाउने तयारी गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ