पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा विरोध

टोकियाे जापान । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको टोलीले ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ जापान शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ जापान शाखाले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठको पक्राउप्रति घोर आपत्ति जनाउँदै विरोध गरेको हो ।

समाचार प्रकाशन, सम्पादकीय सामग्री वा अभिव्यक्तिसँग सम्बन्धित विषयलाई लिएर पत्रकारमाथि धरपकड तथा गिरफ्तारी गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको महासंघको ठहर छ ।

महासंघले प्रकाशित सामग्रीप्रति कसैको असहमति वा उजुरी भए प्रचलित कानुन, स्थापित विधि तथा सम्बन्धित निकायमार्फत प्रक्रिया अघि बढाउनुपर्ने जनाएको छ । पत्रकारलाई पक्राउ गरेर त्रसित बनाउने तथा स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने कार्य कुनै पनि लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै पत्रकारलाई निर्भयतापूर्वक आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्ने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व भएको महासंघले जनाएको छ ।

प्रेसमाथिको कुनै पनि प्रकारको हस्तक्षेपले लोकतान्त्रिक मूल्य, नागरिकको सूचनाको अधिकार र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने महासंघको भनाइ छ ।

नेपाल पत्रकार महासंघ जापान शाखाले वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भएको धरपकडको निन्दा गर्दै उनलाई तत्काल र बिनाशर्त रिहा गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष जोडदार माग गरेको छ ।

महासंघले पत्रकारमाथि अनावश्यक धरपकड, त्रास र दबाब सिर्जना गर्ने गतिविधि तत्काल बन्द गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्नसमेत सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ जापान शाखाका सचिव अर्जुन लामिछानेले हस्ताक्षर गरेका छन् ।
घटना र विचारबाट साभार

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ