मुक्त हरवाचरवाले भदौ ९ गतेदेखि मधेशमा आन्दोलन गर्ने

जनकपुरधाम । मुक्त हरवाचरवाले मधेश प्रदेशमा अान्दोलन गर्ने भएका छन् ।

पहिचान, अधिकार र सम्मानजनक पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा भदौ ९ गतेदेखि आन्दोलन गर्ने भएका हुन्।

मुक्त हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो सरोकार’ नारासहित आन्दोलन गर्न लागिएको हो।

समितिका अनुसार भदौ ९ गते बृहत् विरोध प्रदर्शन र त्यसपछिदेखि अनिश्चितकालीन धर्ना सञ्चालन हुनेछ।

आन्दोलनप्रति राष्ट्रिय दलित नेटवर्क नेपालसहित राष्ट्रिय मुक्त हलिया समाज महासंघ, मुक्त कमैया समाज, मुक्त कमलरी विकास मञ्च र कमैया महिला जागरण समाजले ऐक्यबद्धता जनाएका छन्।

संयुक्त विज्ञप्तिमार्फत संस्थाहरूले २०७९ साउन २ गते सरकारले हरवाचरवा प्रथा अन्त्य तथा हरवाचरवा मुक्तिको घोषणा गरे पनि चार वर्ष पुग्न लाग्दा त्यसको वास्तविक लाभ समुदायले पाउन नसकेको बताएका छन्।

भूमिहीन हरवाचरवाको पहिचान, परिचयपत्र, सुरक्षित आवास, सामाजिक सुरक्षा, रोजगारी र आर्थिक पुनर्स्थापनाको सुनिश्चितता अझै हुन नसकेको उनीहरूको भनाइ छ।

मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रममा गरेको प्रतिबद्धताअनुसार आठवटै जिल्लामा हरवाचरवाको लगत संकलन तथा प्रमाणीकरण, परिचयपत्र वितरण, भूमिहीन परिवारको दिगो पुनर्स्थापना र आवश्यक बजेट सुनिश्चित गर्न माग गरिएको छ।

ऐक्यबद्धता जनाउने संस्थाहरूले आन्दोलनमा नागरिक समाज, मानव अधिकारकर्मी तथा सरोकारवालालाई सहभागी हुन आह्वान गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ