मधेशमा मुक्त हरवाचरवाको विरोध प्रदर्शन

जनकपुर । “पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो सरोकार” भन्ने मूल नारासहित मुक्त हरवाचरवाले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्।

हरवाचरवा संघर्ष समितिको आयोजनामा मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका हजारौँ मुक्त हरवाचरवाले रेलवे स्टेशनबाट र्‍याली सुरु गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि कोणसभा गरेका हुन्।

संयोजक श्रीप्रसाद सदाले हरवाचरवा मुक्ति घोषणा भएको चार वर्ष बितिसक्दा पनि भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी र आर्थिक पुनर्स्थापनाबाट वञ्चित रहनुपरेको बताए।

मुक्त हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदाले घोषणा मात्रले वास्तविक मुक्ति नहुने भन्दै पहिचान, अधिकारको सुनिश्चितता र दिगो पुनर्स्थापना आवश्यक रहेको बताए।

आन्दोलनका सदस्य तथा अधिवक्ता वालाराम भट्टराईले आठवटै जिल्लामा लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण तत्काल सुरु गर्न तथा भूमिहीन परिवारको भूमि र आवाससहित दिगो पुनर्स्थापनाको योजना बनाउन माग गरे।

वक्ताहरूले माग सम्बोधन नभए मुख्यमन्त्री कार्यालयअगाडि अनिश्चितकालीन धर्ना बस्ने चेतावनी दिएका छन्। संघर्ष समितिले यसअघि पनि माग सम्बोधनका लागि प्रदेश सरकारलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ