रसुवा बाढी : भौतिकवादी समाजद्वारा उद्धार र राहतका लागि अपिल

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति भौतिकवादी समाज, नेपालले गहिरो दुःख व्यक्त गरेको छ।

भौतिकवादी समाज, नेपाल केन्द्रीय समितिले बुधबार एक हार्दिक अपिल जारी गर्दै प्राकृतिक विपत्तिको यस घडीमा सम्पूर्ण देशवासीलाई एकअर्काको सहयोग गर्दै सचेतना र सावधानी अपनाउन आग्रह गरेको हो।

समाजले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित रहन, सरकार, पक्ष–प्रतिपक्ष, जात, धर्म तथा विभिन्न समुदायबीचको भिन्नताभन्दा माथि उठेर उद्धार र राहतमा जुट्न अपिल गरेको छ।

अपिलमा बाढीबाट भौतिक संरचना र पूर्वाधारमा व्यापक क्षति पुगेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको उल्लेख गर्दै प्रभावित सम्पूर्णप्रति गहिरो दुःख तथा सहानुभूति व्यक्त गरिएको छ। साथै, बाढी प्रभावित सबै क्षेत्रमा यथाशीघ्र उद्धार तथा राहतको व्यवस्था गर्न सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ।

समाजले आफ्ना देशभरका सम्पूर्ण शाखा, कार्यसमिति, सदस्य तथा समर्थकलाई पनि उद्धार र राहतको मानवीय कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।

“जोगाऔ प्रकृति–बचाऔं मानव सभ्यता : छैन कुनै देवी शक्ति–अपनाऔं मानवता” भन्ने नारासहित समाजले सबैलाई सुरक्षित रहन र मानवीय कर्ममा जुट्न हार्दिक अपिल गरेको छ।

रसुवामा आएको बाढीपछि नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन सरकारी निकायले आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ