बाढी प्रभावित गर्भवती र सुत्केरीका लागि विशेष हटलाइन सेवा सुरु

काठमाडौँ। नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी तथा मानवीय संकटका सन्दर्भमा दैनिक कार्य अद्यावधिक गर्दै विपद् प्रभावित गर्भवती र सुत्केरी महिलाहरूका लागि विशेष हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा यो सेवा सुरु गरेको हो।

बाढी तथा विपद् प्रभावित गर्भवती, सुत्केरी महिला, नवजात शिशु र उनीहरूका परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, संरक्षण, सुरक्षित स्थानमा स्थानान्तरण तथा अस्थायी सुरक्षित आवास र पुनर्स्थापना सहयोगमा पहुँच सहज बनाउन हटलाइन तथा रेफरल सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ।

तत्काल सुरक्षित आवास, संरक्षण र पुनर्स्थापना सहयोगका लागि मन्त्रालयले हटलाइन नम्बरहरू सार्वजनिक गरेको छ। प्रभावितहरूले निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन :

+९७७ ९८४१६१४५८६

+९७७ ९८४१३८६४७१

यसबाहेक, मन्त्रालयले गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट प्राप्त सहयोगको समन्वयका लागि एक कार्यदल गठन गरेको छ। बाढी तथा विपद् प्रभावित नागरिकहरूका लागि प्राप्त राहत, संरक्षण र पुनर्स्थापना सहयोगलाई आवश्यकताका आधारमा प्रभावकारी रूपमा परिचालन गर्न यो कार्यदल बनाइएको हो।

मन्त्रालयले बाढी प्रभावित गर्भवती, सुत्केरी, नवजात शिशु र बालबालिकाहरूका लागि अस्थायी सुरक्षित आवासको क्षमता नक्साङ्कन पनि गरिरहेको छ। विपद् प्रभावित र जोखिममा रहेका बालबालिकाहरूको अवस्था र आवश्यकता पहिचान गर्न र ६ सदस्यीय द्रुत मूल्याङ्कन टोली (Rapid Assessment Team) पनि गठन गरिएको छ। यो टोलीलाई रसुवा, नुवाकोट र धादिङलगायतका बाढी प्रभावित जिल्लाहरूमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मा दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ