भोटेकोशी बाढीपीडितलाई एनएनएसडब्लुओको १ लाख ८६ हजार सहयोग

कञ्चनपुर । गत १० गते विहान करिब ९ बजे रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुओ) कञ्चनपुरले १ लाख ८६ हजार ७ रुपैयाँ सहयोग गरेको छ।

एनएनएसडब्लुओका कार्यसमिति पदाधिकारी तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम सोमबार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

एनएनएसडब्लुओले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको जनाएको छ। संघले संकलित रकम प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा प्रयोग होस् भन्ने उद्देश्यले राहत कोषमा जम्मा गरेको जनाएको छ।

बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एनएनएसडब्लुओले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बाढीबाट प्रभावित तथा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभ र सामान्य जनजीवनमा पुनरागमनको कामना गरेको छ।

यसअघि पनि एनएनएसडब्लुओले बाढीबाट प्रभावित तथा घाइते व्यक्तिहरूको सहज जीवनयापन र पुनर्स्थापनाका लागि अपाङ्गता उपचारसम्बन्धी सहायक उपकरणहरू पठाइसकेको जनाएको छ।

एनएनएसडब्लुओले विपद्को यस कठिन अवस्थामा प्रभावित समुदायलाई सहयोग गर्न सबै संघसंस्था, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार तथा आम नागरिकलाई एकजुट हुन आग्रह गरेको छ।

संघले राहत, उद्धार र पुनर्स्थापनाका लागि गरिने सानो सहयोगले समेत विपद्मा परेका परिवारमा आशा र भरोसा जगाउन महत्वपूर्ण योगदान पुग्ने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ