सरकारी ढोका र रित्तो थाल !

त्रिशूलीको बगर बीस मिटर माथि उकासिएर गहिरो चिहान बनिसकेको थियो। माटो खोस्रेर लासका अवशेष तानिरहेका भोका कुकुरहरूको चित्कारभन्दा कडा होहल्ला रसुवा छिर्ने नाकामा गुञ्जिरहेको थियो, जहाँ राहतका गाडीहरू ‘एकद्वार प्रणाली’को तगारोमा लामो लाइनमा रोकिएका थिए।

जिल्ला समन्वय समिति र नजिकै रहेको आर्मी ब्यारेक परिसरको मुख्य गोदाम अगाडि स्थानीय युवा स्वयंसेवक विकास ताला फुटाउनेसम्मको आक्रोशमा देखिन्थ्यो।

‘हाकिम साब ! बाहिर रसुवाका गाउँमा मान्छे भोकै छटपटाइरहेका छन्, यता ब्यारेक र समन्वय समितिको गोदाममा चामल भिजेर डङ्गुरी गन्हाइसक्यो! यो ताला खोल्नुस्, गाडी अघि बढाउन दिनुस् !’ विकासले चिच्याउँदै भन्यो।

टेबुलमा फाइल मिलाउँदै हाकिमले हातको रातो कलम नचाउँदै कडा स्वरमा थर्काए, ‘विकास ! कानुनभन्दा माथि कोही हुँदैन। यो विपद् हो, तर नियम मिच्ने छुट कसैलाई छैन। ‘एकद्वार प्रणाली’को नीति अनुसार पहिले सबै सामान केन्द्रीय निकायमा दर्ता हुनुपर्छ, त्यसपछि मात्रै यो कलमले तोक लगाउँछ। मेरो कलमको हस्ताक्षर बिना चाउचाउको एउटा पोका बाहिरियो भने भोलि अख्तियारको मुद्दा कसले खेप्छ? मेरो जागिर कसले बचाउँछ ?’

‘तपाईंको तोक र कलम ?’ विकासको आँखाबाट आँसु र आक्रोश एकैपटक खस्यो, ‘उता बगरमा मान्छेका लास कुकुरले खोस्रिएर खाइरहेका छन्, तपाईंलाई कलमको तोक चाहियो? तपाईंको कलम चल्दासम्म मान्छे बाँच्छन् कि कुहिएर सकिन्छन् ?’

त्यही संवाद चलिरहँदा, बीस मिटर लेदोमुनि सिङ्गो घर र परिवार गुमाएका रामबहादुर लुथरुक पर्दै आर्मी ब्यारेक परिसरको त्यो ढोकामा छिरे। उनका हातमा एउटा रित्तो कचौरा थियो।

‘हाकिम साब ! अरू केही चाहिएन, त्यो ओसिएर फाल्न लागेको दुई मुठी चिउरा पाइन्छ कि? हिजोदेखि पेटमा पानीबाहेक केही परेको छैन…’ रामबहादुरले काँपेको स्वरमा याचना गरे।

हाकिमले आफ्नो कलम गोजीमा सिउरिँदै मुन्टो बटारे, ‘प्रक्रिया नपुगी कसैलाई व्यक्तिगत रूपमा बाँड्न मिल्दैन रामबहादुर। माथिको एकीकृत नामावलीमा नाम आएपछि मात्रै यो कलमले सही गर्छ।’

त्यही क्षण, आकाश गर्जियो। लाखौँको इन्धन डढाउँदै भीआईपी बोकेको ‘फलामको चरो’ ब्यारेकमाथिको आकाशमा आइपुग्यो। मन्त्री र उच्च प्रशासकहरूले झ्यालबाट क्यामेरा तेस्र्याएर बीस मिटर माथि उठेको चिहानको फोटो खिचे। हेलिकप्टरको पंखाले सिर्जना गरेको शक्तिशाली हुरीले रामबहादुरले ओढ्न अड्याएको एउटा फाटेको त्रिपाल पनि उडाएर त्रिशूलीमा पुर्‍याइदियो।

बेलुका टेलिभिजनमा भाषण बज्यो-‘सरकार युद्धस्तरमा खटिएकाले कसैले भोकै मर्नुपर्दैन, पीडितलाई नयाँ जीवन दिने काम सुरु भइसकेको छ !’
रामबहादुरले रित्तो कचौरा थामेर उडेको त्रिपालतिर हेरे। रसुवा जाने नाकामा राहतका गाडीहरू उस्तै साङ्लोमा बाँधिएका थिए, गोदामभित्र चामल कुहिएर किरा पर्दै थियो, हाकिमको कलम रातो फाइलमै थन्किएको थियो, र बगरमा कुकुरहरू मानवताको अन्तिम अवशेष कोट्याइरहेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ