रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता

काठमाडौं । प्रमुख राजनीतिक दलहरूको शीर्ष तहको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार संयन्त्रमा नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति, जसपा नेपाल, जनमत र जनमोर्चालगायत दल सहभागी हुनेछन्। विपद् व्यवस्थापनसँगै दीर्घकालीन पुनर्निर्माण, विकास निर्माण र विपद् जोखिम न्यूनीकरणका कामलाई प्रभावकारी बनाउन संयन्त्रलाई निरन्तरता दिने सहमति भएको उनले बताए।

बैठकले संसद्मा रहेका दलहरूको प्राप्त सिट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी एक साताभित्र सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठन गर्ने सहमति पनि गरेको छ। समितिका लागि सभामुख र संसद्लाई औपचारिक आग्रह गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए।

बैठकमा प्रधानमन्त्रीको आगामी संयुक्त राष्ट्रसंघ महासभा सहभागिताबारे समेत छलफल भएको थियो। नेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाउन सरकारलाई सुझाव दिएका छन्।

खरेलका अनुसार बैठकमा सहभागी राजनीतिक दल तथा शीर्ष नेताहरूले लामिछानेले सर्वदलीय पहल अघि बढाएकोमा धन्यवादसमेत दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ